वैदेशिक रोजगारीका क्रममा ओमानमा ज्यान गुमाएका ७ जना नेपालीका परिवारले क्षतिपूर्ति बापत झण्डै १० करोड रुपैयाँ पाएका छन् ।
सन् २०१८ मा ज्यान गुमाएका ११ जनामध्ये ७ जनाको परिवारले ९ करोड ८१ लाख ५ हजार ९ सय ९३ रुपैयाँ क्षतिपूर्ति पाएका हुन् । बाँकी चार जनाको परिवारको क्षतिपूर्तिका लागि कानुनी प्रक्रिया गरिरहेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले जानकारी दिनुभयो ।
पाल्पाका बद्रीप्रसाद ढुंगाना, रुपन्देहीका बिमल गुरुङ, इलामकी फूलमाया तामाङ, सुनसरीका शुक्रराज मगर, धनकुटाकी गंगाकुमारी राई, मकवानपुरका इन्द्रबहादुर स्यातान, तनुहँका बिष्णुबाबु तिवारीका परिवारले क्षतिपूर्ति पाएका हुन् ।
पीडित परिवारले पाउनुपर्ने रकम नेपालस्थित परराष्ट्र मन्त्रालय मार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयले प्रमुख जिल्ला अधिकारीको रोहबरमा सम्बन्धित व्यक्तिको परिवारलाई हस्तान्तरण गर्नेछ ।