चैत ७, २०७५
काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरीजाप्रसाद कोइरालको नवौँ स्मृति, कांग्रेस र भ्रातृ संगठनले विभिन्न कार्यक्रम गरी मनाउँदैछन्। कोइराला परिवार जहानियाँ राणाशासनको विरोध गरेबापत भारतको विहार राज्यको टेडी, सहर्षामा निर्वासत जीवन बिताइरहेको समयमा विक्रम संवत् १९८१ मा कोइरालाको जन्म भएको थियो। कृष्णप्रसाद कोइरालाकी कान्छी पत्नी दिव्या कोइरालाका कान्छा छोरा गिरिजाप्रसादको पूरै जीवन राजनीतिमै बित्यो। २०४८ सालको आमनिर्वाचनपछि जननिर्वाचित प्रधानमन्त्री बनेका कोइराला चार पटक मुलुकको प्रधानमन्त्री बने।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले देशमा सङ्कटकाल लगाई कोइराला लगायत अन्य दलका नेतालाई नजरबन्द र गिरफ्तार गरेपछि कोइरालाले २०६२ सालमा ‘जनयुद्ध’ लडिरहेको तत्कालीन नेकपा माओवादी पार्टीसँग समेत हातेमालो गरे। उनले १० वर्ष लामो सशस्त्र युद्ध गरेको तत्कालीन नेकपा (माओवादी) लाई शान्ति प्रक्रियामा ल्याउन महत्त्वपूर्ण स्थानमा रहेर नेतृत्व प्रदान गरे। कोइरालाकै नेतृत्वमा राजाका सबै अधिकार खोसिए र नेपाली सेनालाई संसद्को नियन्त्रणमा ल्याइयो। कोइरालाको ८५ वर्षको उमेरमा २०६६ चैत ७ गते मण्डिखाटारस्थित छोरी सुजाता कोइरालाको निवासमा निधन भएको थियो।