आगामी शुक्रबार र शनिबार काठमाडौंमा आयोजना हुने लगानी सम्मेलनको सबै तयारी पूरा भएको सरकारले जनाएको छ । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी अर्थमन्त्री युवराज खतिवडाले सम्मेलनको सबै तयारी पूरा भएको जानकारी दिए ।
सम्मेलनमा ४० देशबाट प्रतिनिधि आउने अर्थमन्त्री खतिवडाले जानकारी दिए । सम्मेलनमा ६ सय बढीले सहभागिता जनाउानेछन् । दुई दिने सम्मेलनमा लगानी बोर्डले कृषि, जलविद्युत, उद्योग, पर्यटन , यातायात, सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजनाहरु प्रस्तुत गर्ने छ ।
सम्मेलनमा १२ वटा समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी भएको अर्थमन्त्री खतिवडाले जानकारी दिए । विदेशी लगानी भित्र्याउन सहज बनाउने उद्देश्यसहित सरकारले कानुन सुधार गरेको मन्त्री खतिवडाले बताए ।
सम्मेलनलाई लक्षित गर्दै सरकारले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउनुका साथै विशेष आर्थिक क्षेत्र ऐनमा संसोधन समेत गरी सकेको छ ।
सम्मेलनका लागि म्यानमारका लगानी तथा विदेश आर्थिक सम्बन्ध मन्त्री यू थाउङ टुन, विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफर, एशियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन, विश्व बैंक अन्तरगतको वहुपक्षीय लगानी प्रत्याभूति सम्बन्धी निकायका उपाध्यक्ष तथा प्रमुख कार्यकारी केईको होण्डा, अन्तर्राष्ट्रिय वित्त निगमका आर्थिक तथा निजी क्षेत्र विकाससम्बन्धी उपाध्यक्ष हान्स पिटर लंकेस, एशियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसंचालन सम्बन्धी उपाध्यक्ष डोङ ली तथा माईक्रोसफ्ट, अमेजन, पावर चाईना, चाईना रेलवे, डाबर, यूनिलिभर लगायतका विश्व प्रसिद्ध कम्पनीहरुको उच्चपदस्थ प्रनिनिधिहरुको उपस्थिति रहने लगानी बोर्डले जनाएको छ ।
उक्त दुई दिने सम्मेलनको पहिलो दिन नेपाल सरकारको तर्फबाट लगानीको अवसर तथा लगानी सम्बन्धी नीतिगत सुधारहरुबारे प्रस्तुतिकरण , नेपालमा लगानी गरिरहेका लगानीकर्ताहरुको अनुभव, अन्तराष्ट्रिय लगानीकर्ताहरुको लगानी सम्बन्धी अनुभव सहित सातटा विषयगत सत्रहरु संचालन हुनेछन् ।
त्यसैगरी सम्मेलनको अन्तिम दिन दुईवटा क्षेत्रगत र तीनवटा प्लेनरी सत्रहरु संचालन हुनेछन् । पत्रकार सम्मेलनमा उपस्थित निजी क्षेत्रका उद्योगी व्यवसायीले समेत सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले लगानी सम्मेलनमा निजी क्षेत्रको लागि पनि अवसर भएको बताइन् । कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपाल सबैभन्दा बढी प्रतिफल दिने बजार भएको टिप्पणी गरे ।