गुल्मीको सदरमुकाम तम्घासमा खानेपानीको अभाव भएको छ। सदरमुकाम रहेको रेसुंगा नगरपालिकाको अन्य वडामा खानेपानी सामान्य उपलब्ध भए पनि वडा नम्बर ९ मा चरम अभाव रहेको हो । धारामा खानेपानी नआएपछि मुहान खोज्दै हिँड्न स्थानिय बाध्य भएका छन्।
स्थानीयहरु नगरपालिका समक्ष हारगुहार गरेका छन्। दैनिक ३० हजार लिटर खानेपानीको माग भए पनि नगरपालिकाले १२ हजार लिटर मात्रै खानेपानीको व्यबस्था गर्न सकेको रेसुंगा नगरपालिकाका सूचना अधिकृत शंकरप्रसाद गौतमले जानकारी दिनुभयो । नगरपालिकाका प्रवक्ता पदम अर्यालले एउटा ट्याङ्करले मात्रै माग थेग्न नसकेकाले अर्को ट्याङकर थप गर्ने बताउनुभयो ।
टाढाबाट पानी ल्याउनु पर्दा पानीको माग थेग्न नसकिएकाले नजिकमा रहेको वडा नम्बर ३ को मुहानलाई संरक्षण गर्ने गरी प्रक्रिया अगाडि बढाएको उहाले बताउनुभयो । प्रवक्ता अर्यालले नगरबासीलाई सहज रुपमा पिउने पानीको व्यबस्था गरेरै छाड्ने प्रतिबद्धता जनाउनु भएको छ।