डिभिजन वन कार्यालय मोरङका सहायक वन अधिकृत सलाउद्दीन अन्सारी घुससहित पक्राउ परेका छन् । मोरङको सुन्दर हरैचा नगरपालिकामा रहेको दिपज्योति सामुदायिक वन उपभोक्ता समितिसँग ३५ हजार घुस लिँदै गर्दा अन्सारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
लाटी झोडा साझेदारी वनसमेत हेर्ने जिम्मेवारी पाएका अन्सारीले काठ दाउरा काट्न सहमति दिने नाममा उपभोक्ता समितिबाट रकम मागेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका डीएसपी डिल्लीनारायण पाण्डेको नेतृत्वमा आएको टोलीले उनलाई कार्यालयबाट नगदसहित पक्राउ गरेको हो ।
सुन्दर हरैचा नगरपालिका र केरावारी गाउँपालिका क्षेत्रमा पर्ने लाटीझोडा साझेदारी वनमा पछिल्लो समय रुख कटान व्यापक हुँदै आएको छ । उनलाई पक्राउ पछि कानुनी प्रक्रिया पूरा गरी काठमाण्डौ पठाइने तयारी भएको छ । अख्तियारका अनुसार आजै उनलाई काठमाण्डौ लगिने छ ।