बैदेशिक रोजगारीबाट स्वदेश फर्केका व्यक्तिले आउँदो बैशाखमा सीप परीक्षण गर्न पाउने भएका छन् । सीप आर्जनको प्रमाणपत्र लिन चाहेका र यसअघि आवेदन दिएका व्यक्तिले आउँदो बैशाख ३ गते सीप परीक्षण गर्न पाउने वैदेशिक रोजगार बोर्डले जनाएको हो । यसअघि परीक्षण गराउन भनेर आवेदन दिएका चारसय ६६ जनाले सातवटै प्रदेशका विभिन्न ठाउँबाट सीप परीक्षण गर्न पाउने बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिनुभयो । उहाँले सीप परीक्षण गर्नुअघि यसै महिनाको २० गतेदेखी २६ गतेसम्म सञ्चालन हने अभिमुखीकरण कार्यक्रममा पनि अनिवार्य सहभागि हुनुपर्ने बताउनुभयो । बोर्डले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र, सिटिईभीटीको राष्ट्रिय सीप परीक्षण समितिसँग मिलेर सीप परिक्षण गराउन लागेको हो । गएको पुसमा बोर्डले सीप परीक्षण गराउन चाहने व्यक्तिको आवेदन मागेको थियो । यस आर्थिक वर्षमा एकहजार व्यक्तिको लागि निःशुल्क सीप परीक्षणको व्यवस्था मिलाइएको थियो ।