प्रधानमन्त्री केपी शर्मा ओलीले सीके राउतसँग गरिएको सहमतिमा जनमत संग्रहबारे कहीँ कतै उल्लेख नगरिएको बताउनुभएको छ ।
सोमबार सिंहदरबारमा आयोजित राष्ट्रिय सुरक्षा परिषदको १८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डताको विषयलाई प्रश्न उठाउने अधिकार कसैलाई नभएको पनि स्मरण गराउनुभयो ।
प्रधानमन्त्री ओलीले देशको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र जनताको सार्वभौमसत्तामाथि जनमत संग्रह हुनै नसक्ने पनि स्पष्ट पार्नुभयो । उहाँले राष्ट्रिय एकता र लोकतन्त्रको पक्षमा जनताले चाहे मात्रै जनमत संग्रह हुन सक्ने पनि उल्लेख गर्नुभयो ।
राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले पृथकतावादी आन्दोलन गरिरहेको राउत समूहले देशको भौगोलिक अखण्डताको सम्मान गर्दै मूल धारको राजनीतिमा आएको बताउनुभयो ।