बंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडेको यूएस–बाङ्ला एयरलाइन्सको बम्बार्डियर क्यू–४०० विमान दुर्घटना भएको एक वर्ष पूरा भएको छ । २०७४ फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा ५१ जनाको ज्यान गएको थियो ।
चालक दलका चार सदस्यसहित ७१ जना सवार विमान दुर्घटनामा परेर २२ नेपाली, २८ बंगाली र एक चिनियाँ नागरिकको मृत्यु भएको थियो । दुर्घटनामा परेका नेपाली मध्ये अधिकांश बंगलादेशमा मेडिकल अध्ययन गर्न गएका विद्यार्थी थिए । दुर्घटनाको बाह्र दिनपछि विमानका प्रमुख चालक क्याप्टेन अविद सुल्तानकी श्रीमती अफ्साना खानमको उपचारको क्रममा ढाकामा मृत्यु भएको थियो ।
दुर्घटनाको छानविन गर्न गठित आयोगले भएका झण्डै एक वर्षपछि प्रतिवेदन बुझाएको छ ।
पूर्वसचिव यज्ञप्रसाद गौतमको अध्यक्षतामा गठित छ सदस्यीय आयोगले विमानका क्याप्टेन सुल्तान मानसिक रुपमा एकदमै तनावग्रस्त र थकित रहेको निश्कर्ष निकालेको छ । आफैले प्रशिक्षित गरेका एक जना सहचालकले उनलाई ‘दक्ष उडान प्रशिक्षक नभएको’ भनेपछि ५२ वर्षीय सुल्तान तनावमा परेको प्रतिवेदनमा उल्लेख छ ।