पाल्पा – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेशमा आन्दोलन गर्दै आएको सिके राउतसँग सरकारले गरेको सम्झौता राष्ट्रघाती भएको टिप्पणी गरेका छन्। नेपाल प्रेस युनियन पाल्पा शाखाले शनिबार तानसेनले गरेको पत्रकार भेटघाटमा देउवाले भने सहमति भएको केही समयमै सिके राउतका समर्थकले नयाँ देश मधेसमा स्वागत छ भन्दै निकालिएको जुलुसले यसको पुष्टि गरेको दाबी गरे। सभापति देउवाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई हत्या हिंसा छोडेर वार्तामा आउन आग्रह गरे। ‘वार्ताको विकल्प छैन’, उनले भने, ‘सरकारले वार्ताका लागि आह्वान गर्नुपर्छ। विप्लव हिंसा छोडेर छलफलका लागि आउनुपर्छ।’ ओली सरकारको एक वर्ष उखान टुक्कामै वितेको उनले बताए। ‘यो सरकार बनेको एक वर्ष बितिसक्यो। एउटा पनि महत्वपूर्ण काम भएको छैन्’, उनले भने, ‘सरकार अपराधीहरूलाई बचाउने काम गरिरहको छ यही अवस्था हुँदै जाने हो भने मुलुक कहाँ पुग्छरु’ यसैगरीसरकार अगाडि बढिरहे चुप लागेर नबस्ने उनको भनाइ छ। महाधिवेशन आउन थालेका कारण पार्टीमा नेताहरूबीच तिक्तता बढेको उनले बताए। ‘रामचन्द्रजीलाई सभापति बन्ने इच्छा भएकाले पनि मैले गरेको निर्णयलाई अस्वीकार गर्नु स्वाभाविक हो’, देउवाले भने, ‘अबको अधिवेशनमा सभापतिको लागि चुनाव लड्दै हुनुहुन्छ रामचन्द्रजी। अनि मैले भनेको कहाँ मान्नुहुन्छ।’ सभापति देउवाले गिरिजाबाबुले ल्याएको संविधानविपरीत हिन्दु धर्मको पक्षमा वकालत नगर्न शेखर कोइरालालाई आग्रह गरे।