तिलोत्तमामा नगरपालिका रुपन्देहीमा प्रस्ताव गरिएको, बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय स्थापना भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर १ नयाँ मिलदेखि ५०० मिटर पूर्व प्यारामाउन्ट टोलमा आयोजनाको कार्यालय स्थापना भएको हो ।
धेरैजसो कामहरु कानुनी प्रकृयामा भएकाले शुरुमा केन्द्रबाटै काम हुने उपसचिव मानबहादुर घिमिरेले बताए । कार्यालयमा आयोजना प्रमुखसहित एकजना उपसचिव, शाखा अधिकृत, इन्जिनियर, लेखा अधिकृत, चालक र कार्यालय सहयोगीसहित सातजना कर्मचारीको दरबन्दी छ ।
मेडिकल कलेज आयोजना कार्यालयको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ८ गते गर्ने कार्यक्रम तय भएको आयोजनाका लागि खटाइएका उपसचिव घिमिरेले जानकारी दिए । स्वास्थ्य क्षेत्रको जनशक्ति प्रदेशमै उत्पादन गर्ने उद्देश्यले वर्तमान सरकारले सात वटै प्रदेशमा एक एक वटा सरकारी मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेको थियो ।
गत फागुन ३ गते बसेको मन्त्रिपरिषद बैठकले प्रदेश ५ को रुपन्देहीको तिलोत्तमा,सरकारी मेडिकल कलेज स्थापनाका लागि पूर्वाधार निर्माण विकास आयोजना स्वीकृत गरेको थियो । संघीय सरकारले चालु आर्थिक वर्षको बजेटमा तिलोत्तमा, बर्दिबास र सुर्खेतमा मेडिकल कलेज स्थापनाका लागि एकमुष्ट ३० करोड रुपैयाँ विनियोजन गरेको थियो ।
कार्यालय उद्घाटनसँगै आयोजनाका काम शुरु हुनेछन् । आयोजनाले मेडिकल कलेज स्थापनाका लागि ईआईए, गुरुयोजना निर्माण, जग्गा प्राप्ति लगायतका कामहरु गर्नेछ ।
योजना अनुसार मेडिकल कलेज त्रिभुवन विश्वविद्यालयको आंगिक कलेजको रुपमा स्थापना हुने छ । त्यसका लागि करिब १० अर्ब खर्च हुने पूर्वानुमान गरिएको छ । डीपीपआर लगत्तै २ सय बिघा जग्गामा तत्काल २ वटा ठूला भवन बन्ने छन् । वन क्षेत्र भएकाले ठूला रुख नकाटी तिनलाई पार्क र बगैंचाका रुपमा व्यवस्थित गर्दै कलेज सञ्चालन गरिने छ ।
रुपन्देही २ का प्रतिनिधिसभा सदस्य विष्णु पौडेल अर्थमन्त्री भएका बेला तिलोत्तमामा सरकारी मेडिकल कलेज स्थापनाको अवधारणा अघि बढेको हो । तिलोत्तमा नगरपालिकाको वडा नम्बर १ र ८ मा पर्ने शंकरनगर सामुदायिक वन र करहिया सामुदायिक वनको दुई सय बिघा जग्गा मेडिकल कलेज बनाउन दिने निर्णय यसअघि नै भइसकेको छ । कम्तीमा तीन सय शय्याको अस्पताल बनाएर तीन वर्षसम्म सञ्चालन गरेपछि मात्र मेडिकल कलेजले एमबीबीएस तहका विद्यार्थी भर्ना गर्न पाउने प्रावधान अहिले छ ।