पूर्व–पश्चिम राजमार्ग अर्न्तगतको बुटवल–नारायणघाट सडकखण्ड विस्तारको काम सुरु भएको छ । निर्माणका लागि सडक विभाग अन्तर्गतको एडीबी सडक निर्देशनालयले ठेक्कामा सबैभन्दा कम रकम कबोल गर्ने चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग सम्झौता गरी काम आरम्भ गरेको छ ।दुई लेनबाट ६ लेनमा विस्तार गर्न लागिएको बुटवल–नारायणगढ खण्ड ।
माघ २४ मा भएको सम्झौताअनुसार पहिलो चरणको विस्तारको काम २०८० साउन २२ मा सम्पन्न हुनेछ । त्यसपछि ०८४ साउन २१ सम्म निर्माण कम्पनीले नै मर्मत गर्नेछ । यस अघिका निर्माण आयोजनामा मर्मतको समयावधि १ वर्षको हुने भए पनि यो योजनामा मर्मतको अवधि ४ वर्ष राखेर नयाँ परिक्षण गर्न लागिएको छ ।
विभागले एसियाली विकास बैंकको ३२ वर्षे ऋण सहयोगमा सडक विस्तार गर्न थालेको हो । सडक निर्माणको कुल लागत १६ अर्ब ९९ करोड ५२ लाख ९५ हजार रुपैयाँ छ । त्यसमध्ये एडीबीले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराउनेछ । थप रकम नेपाल सरकारकै हुनेछ । एडीबीले नेपाल सरकारलाई १ दशमलव ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराएको एडीबीको आयोजना निर्देशनालयले जनाएको छ ।निर्माण अवधि साढे ४ वर्षको हुनेछ, ‘त्यसपछिको ४ वर्ष मर्मतको काम समेत निर्माण कम्पनीले नै गर्नेछ ।’ निर्देशनालयका अनुसार १ सय १३ किमिलाई दुई खण्डमा विभाजन गरिएको छ ।
पहिलो खण्ड गैंडाकोटदेखि दाउन्नेसम्म ६५ किमि र दोस्रो खण्ड दाउन्नेदेखि बुटवल चौराहासम्म ४८ किमि छ । गैंडाकोट–दाउन्ने खण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवल खण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ रहेको छ ।
अहिले बुटवल–नारायणगढ सडक दुई लेनको छ । अबको ५ वर्षमा पूरै सडक ६ लेनको बन्नेछ । सडकको २ लेनको बीचमा तीन मिटरको ग्रिनरी भाग रहनेछ । जहाँ सदावहार हरियाली देखिनेछ । विस्तारित सडक दुईतर्फ नै ७–७ मिटरको बन्नेछ । एक लेन साढे ३ मिटरको हुनेछ । बस्ती क्षेत्रको झन्डै २८ किमि खण्डमा ७ मिटरको सर्भिस लेन समेत निर्माण हुने छ ।
उकालो र ओरालो पहाडी क्षेत्र रहेको दाउन्ने खण्डको १२ किमिमा ३ लेन मात्र हुनेछ । त्यहाँ उकालोमा गुड्ने सवारी साधनले २ लेन र ओरालोमा गुडिरहेको सवारी साधनले १ लेन प्रयोग गर्ने छ । दाउन्ने पहाडको ८ किमि खण्डमा भने सडक २ लेन मात्र हुनेछ ।
सडक विस्तारका लागि निर्माण कम्पनीले रजहर, भूमहीमा क्याम्प निर्माण गरी काम सुरु गरेको छ । आरुङखोलामा सामग्री राख्नका लागि क्याम्प निर्माण भइरहेको छ । सडकको शुक्रबार प्रधानमन्त्री केपी ओलीले शिलान्यास गर्दै छन् । सडक विस्तारको प्रारम्भिक काम सुरु भइसकेको छ ।
तस्बिर घनश्याम गौतम