फागुपर्व अर्थात् होली मनाइँदै
फागु पूर्णिमा तिथिको हिसाबले चतुर्दशी तिथि भए पनि बुधबार फागुपर्व अर्थात् होली मनाइँदैछ। बिहान ९:४८ पछि पूर्णिमा तिथि लाग्दैछ। प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णिका दिन होली मनाउने परम्परा छ। होलीको सुरुवात फाल्गुण शुक्ल अष्टमीमै हुन्छ। रुख काटेर बनाइएको लिंगोमा विभिन्न रंगका ध्वजा सजाइन्छ। यसरी सजाइएको लिंगो सबैको अनुकुल हुने ठाउँमा ठड्याइन्छ। अष्टमीदेखि पूर्णिमासम्म आठ दिनसम्म मनाइने पर्व हुनाले फागुलाई ‘होलाष्टक’ भनिन्छ। मुख्य दिन भने पूर्णिमा वा चैत्र कृष्ण प्रतिपदालाई लिइन्छ। काठमाडौं उपत्यकालगायत पहाडी भूभागमा पूर्णिमामा होली मनाइन्छ भने तराई मधेशका जिल्लामा भोलिपल्ट। ठाउँअनुसार होली, फागु, होरी, होलिकोत्सव आदि नामले यो पर्व मनाइन्छ। होली होलिका वध भएको प्रसंगसँग जोडिएको छ। नकारात्मक पक्षको अन्त्य भएको खुशीयालीमा होली मनाइएको बताइन्छ। ‘श्रीमद्भागवतलगायत पुराणमा होलिका बधसम्बन्धी विभिन्न प्रसंग आउँछ’, पुराणविद् प्रियंवदा काफ्ले भन्छिन्। कतै मध्यरातमा होलिकाको प्रतीक चीर जलाएर टीका लगाएपछि होली समाप्त हुन्छ। कतै भने यसवेलादेखि हाेली सुरु भएको मानिन्छ। ‘भागवतकै दशम स्कन्धमा कृष्णले गोपिनीहरूसँग खेलेको सन्दर्भलाई लिएर होली मनाउने चलन छ । यही प्रसंगलाई लिएर पूर्णिमाको रात होलिका दहन गर्ने परम्परा छ। लौकिक कालगणनाअनुसारको वसन्त ऋतु सुरु हुने खुशीयालीमा होली मनाइएको धारणा पनि छ। होलीमा लगाइने रंगका बेग्लाबेग्लै महत्त्व छ। प्रकृतिमा भएका सबै रंगहरूको प्रतीक हो होलीमा लगाइने रंग। पहिले पहिले प्रकृतिबाटै प्राप्त हुने रंगहरूबाट होली खेलिन्थ्यो। वनस्पति वा फूलबाट रंग बनाएर प्रयोग गरिन्थ्यो। हिजोआज होलीमा प्रयोग हुने विभिन्न रासायनिक रंगले मानिसको स्वास्थ्यमा हानि पुर्याउने पक्ष भुलिएको छ। फागु अर्थात् होलीको सुरुआत नै राक्षसी प्रवृत्तिको अन्य गरी दैवीभाव सञ्चार गर्न भएको बताइन्छ। मानिस मानिसबीच सद्भाव र एकता कायम राख्न मनाइने हो। सामाजिक सम्बन्धलाई नवीकरण गर्ने र मजबुत बनाउने अवसर हो।