व्यवसायीलाई प्रहरी प्रशासनले पक्राउ गरेको विरोधमा पाल्पा उद्योग वाणिज्य संघले आहृवान गरेको अनिश्चितकालिन पाल्पा बन्दको आज तीनदिन पुगेको छ । बन्दले जिल्लाको जनजीवन प्रभावित बनेको छ । तीन दिनदेखि जारी बन्दका कारण आज पनि बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् । बन्दका कारण पाल्पाको सडकमा निजी तथा सार्वजनिक सवारीका साधन चलेका छैनन् भने पसल, उद्योग, कलकारखाना बन्द भएका छन् । बिहानैदेखि उद्योगी, व्यवसायीहरु सडकमा उत्रेर आफ्ना व्यवसायीलाई बिना शर्त रिहाइको माग गर्दै नाराजुलुस गरेका छन् । पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष शैलेन्द्र भटराई, व्यवसायीहरु लक्ष्मण रेग्मी र बाबुराम विष्टलाई बिना प्रमाण प्रशासनले पत्रकार कुटपिटको आरोपमा थुनामा राखेको विरोधमा बन्द आहृवान गरेको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।