कर्मचारी समायोजनमा असहमति जनाउँदै यसअघि पटकपटक आन्दोलन गर्दै आएका सरकारी चिकित्सकहरूले पुनस् आन्दोलन गर्ने भएका छन्। पछिल्लो समय सार्वजनिक भएको सामायोजन सूचीको विरोध गर्दै चिकित्सकहरूले पुन आन्दोलनको घोषणा गरेका छन्।
उनीहरूले भोली शुक्रबारदेखि देशभरका सरकारी स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेकका सबै सेवा बहिष्कार गर्ने घोषणा गरेका छन। सार्वजनिक भएको समायोजन सूचीको विरोध गर्दै देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको सघका अध्यक्ष डा दीपेन्द्र पाण्डेले बताए।
सरकारी चिकित्सक पटक पटक आन्दोलनमा
सरकारी चिकित्सकहरूले यसअघि पनि आफूहरूलाई संघ अन्तर्गत राखेर सेवामा पठाउनुपर्ने प्रमुख माग राख्दै गत पुस २२ देखि पहिलोपटक आन्दोलन सुरु गरेका थिए। आन्दोलन चर्किंदै सेवा बहिष्कारसम्म पुगेपछि गोदानसँग वार्ताका लागि मन्त्रालयले समिति बनाएको थियो।
त्यसबेला सरकारी वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्यसेवा विभागका महानिर्देशक डा गुणराज लोहनी सहसचिव जनार्दन गुरागाईं तथा मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठ र सरकारी चिकित्कहरुको तर्फबाट अध्यक्ष डा दीपेन्द्र पाण्डे डा रविन खड्का डा सन्तोष पौडेललगायत बिच भएको वार्तामा सरकार र गोदानबीच आठ बुँदे सहमतिपछि आन्दोलन स्थगित भएको थियो।
तर, आफूहरु सँग सरकारले गरेको सहमतिको कार्यान्वयनमा सरकारले एक महिना बितिसक्दा पनि मन्त्रालयले कुनै चासो नदेखाको भन्दै चिकित्सकहरूले २७ माघबाट दोस्रो चरणको आन्दोलन सुरु गरेको थियो। दोस्रोपटकको आन्दोलन चर्कंदै गएको बेलामा चिकित्सकहरूसँग प्रधानमन्त्रीले छलफल गरेपछि चिकित्सकहरूले आन्दोलन स्थगित गरेका थिए।
तर हाल, सामान्य प्रशासन मन्त्रालयले समायोजनको सूची सार्वजनिक गर्दा आफूहरूसँग सरकारले गरेको सहमति र प्रधानमन्त्रीले दिएको आश्वसन पूरा नगरेपछि आफूहरूले तेस्रोपटक आन्दोलनको घोषणा गरेको बताउँछन् अध्यक्ष पाण्डे। सरकारले गत बिहिबार स्वास्थ्य सेवाका सातौँ, आठौँ र नवौँतहको समायोजन सूची सार्वजनिक गरेको थियो।
सात सय चिकित्सक सामूहिक राजीनामा दिन तयार
पटक पटक सहमति गरेर आफूहरूलाई सरकारले धोका दिएको भन्दै आएका चिकित्कहरूले यसपालिको आफूहरूको आन्दोलन वार कि पार हुने बताएका छन्।
आफूहरूका माग पूरा नभए अन्तिम विकल्पमा सरकारसमक्ष राजीनामा बुझाउने चिकित्सक संघले घोषणा गरिसकेको छ।
हाल स्वास्थ्य मन्त्रालयअन्तर्गत १८ सय सरकारी चिकित्सकको दरबन्दी रहेकोमा देशभर १४ सय मात्रै चिकित्सक कार्यरत रहेको मन्त्रालयको तथ्यांक छ।