आगामी तीन दिनसम्म देशभरी नै मौसम बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावले हल्कादेखि मध्यम वर्षा गराउने महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो । गए रातिदेखि कमजोर रुपमा पूर्वमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदलीसँगै हल्कादेखि मध्यम खालको वर्षा हुने छ ।
उक्त प्रणाली क्रमशः विकसित भई आगामी शनिबारसम्म कायम रहने बताइएको छ । काठमाडौँ उपत्यकामा बिहीबार दिउँसो केहीबेर मौसम खुल्ला भई घाम लाग्नेछ र अन्य स्थानमा भने तत्काल मौसम सफा हुने अवस्था नरहेको मौसमविद् बासीले जानकारी दिनुभयो । राति देशको पूर्वी र मध्य भूभागमा आंशिक बदली रही
पश्चिमी भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको बताइएको छ । भोली शुक्रबार देशका मध्य भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शुक्रबार देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भूभागहरुका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसम बिद्हरुले सबैलाई सतर्क रहन आग्रह समेत गरेका छन ।