कृषकलाई व्यवसायमा हौसला बढाउन पाल्पाको बगनासकाली गाउँपालिकाले तरकारी ढुवानीमा अनुदान रकम प्रदान गर्न थालेको छ ।
स्थानीय बजारमा तरकारी बिक्री नभएर त्यसै कुहाउन बाध्य यहाँका कृषकलाई अन्यत्र लगेर बिक्री वितरण गर्न गाउँपालिकाले ढुवानी खर्च दिँदै आएको छ । पाँच सय किलोभन्दा बढी अन्यत्र बजारमा लगेर तरकारी बिक्री गर्ने कृषकलाई प्रतिकिलो रु दुई ढुवानी खर्च प्रदान गर्दै आएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष जिसीले बताए ।
उनका अनुसार, गत वर्ष मात्रै ४० हजार किलो तरकारी अन्यत्र बजारमा ढुवानी गरेबापत कृषकलाई रु ५९ हजार २०० रकम ढुवानी अनुदान प्रदान गरिएको थियो । यस वर्ष पनि ढुवानीमा अनुदान दिने क्रम जारी छ ।
ढुवानी अनुदानका लागि कृषि शाखामा पहिले नै आफ्नो तरकारी बाली, कहाँ ढुवानी गर्ने, कति ढुवानी गर्ने सबै अभिलेख पेश गरेर मात्र कृषकलाई ढुवानी अनुदान उपलब्ध गराइएको छ । गत वर्ष व्यावसायिक १२ र दुई कृषक समूहमा आबद्ध ३० सहित ४२ कृषकलाई ढुवानी अनुदान रकम प्रदान गरिएको थियो ।
तरकारी ढुवानी अनुदानका लागि गाउँपालिकाले गत वर्ष र यस वर्ष रु एकरएक लाख रकम विनियोजन गरेको छ ।
कृषकले वर्षेनी ठूलो परिमाणमा तरकारी उत्पादन गर्दै आएका छन् । स्थानीय बजारले तरकारी थेग्न नसकेपछि कृषकको लगानी त्यसै खेर गइरहेको थियो । अहिले बजारमा पु¥याउन ढुवानी अनुदान पाएपछि कृषि व्यवसायमा कृषकलाई हौसला मिलेको छ ।
गत वर्ष मात्रै गाउँपालिकामा रु एक करोड ५० लाख बराबरको तरकारीको कारोवार भएको थियो भने यस वर्ष रु दुई करोड ५० लाखसम्म कारोवार हुने कृषि शाखाले जनाएको छ ।
यस क्षेत्र जिल्लामै तरकारी, मकैको मूल बीउ उत्पादन, कुरिलो खेतीका रुपमा प्रख्यात छ । यहाँबाट वर्षेनी पाँच लाखको कुरिलो बाहिरी बजारमा निर्यात हुँदै आएको छ । वार्षिक तीन हजार किलो मह, ३५ टन मकैको मूल बीउ उत्पादन हुने गरेको कृषि प्राविधिक बताउँछन् ।