लोकप्रिय भिडियो एप टिकटक भारतमा ब्लक भएको छ । भारत सरकारको आग्रहमा एप्पल र गुगलले प्ले स्टोरबाट टिकटक एपलाई हटाइदिएका छन् ।
यसको अर्थ टिकटकलाई अवैध बनाइएको भने होइन । पहिल्यै आफ्नो मोबाइलमा यो एप हुनेहरुले प्रयोग गर्न सक्छन् । तर, नयाँ प्रयोगकर्ताले डाउनलोड गर्न सक्ने छैनन् ।
मद्रास उच्च अदालतले भारत सरकारलाई यो एपमाथि प्रतिवन्ध लगाउने आदेश दिएको थियो । यो एपले भारतमा पोर्नोग्राफीलाई बढावा दिइरहेको अदालतको जिकिर थियो । त्यसलगत्तै सूचना तथा प्रविधि मन्त्रालयले गुगल र एप्पललाई प्ले स्टोरबाट टिकटक हटाउन अनुरोध गर्यो । त्यस बमोजिम दुवै कम्पनीले कदम चालेका हुन् ।
मद्रास उच्च अदालतको आदेशविरुद्ध एपको मालिक चिनियाँ कम्पनी बाइटडान्स सर्वोच्चमा पुनरावेदन गरेको थियो ।तर, सर्वोच्चले पनि उच्च अदालतको आदेशसलाई सदर गर्यो । भारतमा टिकटकका १२ करोडभन्दा बढि प्रयोगकर्ता छन् । यसले खासगरी युवतीहरुलाई आकषिर्त गरिरहेको छ ।
बंगलादेशमा पनि टिकटक प्रतिवन्धित छ भने अमेरिकामा बालबालिकाहरुको सूचना अवैधरुपमा संकलन गरेको भनेर कम्पनीलाई जरिवाना गराइएको थियो ।
र, केही विश्लेषकले भने चिनियाँ कम्पनीको उत्पादन आफ्नो देशमा अत्याधिक लोकप्रिय हुँदा भारत सरकारले त्यसलाई सहन नसकेको टिप्पणी गरेका छन् ।
मद्रास उच्च अदालतमा यो टिकटकमाथिको मुद्दाको अर्को सुनुवाई २२ अप्रिलमा हुनेछ । विश्वभर टिकटकका ५० करोडभन्दा बढि प्रयोगकर्ता छन् ।