नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७० वर्ष पूरा भएको छ । आज कम्युनिष्ट घटक दलहरुले विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाउँदैछन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले काठमाण्डौको कमलादीमा रहेको प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम गर्दैछ । कार्यक्रममा शीर्ष नेताहरुले सम्बोधन गर्ने तय भएको छ । यस्तै अरु कम्युनिष्ट घटकहरुले पनि स्थापना दिवस विभिन्न कार्यक्रम गरेर मनाउँदैछन् ।
सन् १९४९ को अप्रिल २२ मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । तत्कालीन राणा सरकारको विरोधमा जनमत निर्माण गरी देशमा सामाजिक रुपान्तरण र जागरणका लागि पुष्पलाल श्रेष्ठको अगुवाइमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।
यस्तै आजै तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीच एकता भएर निर्माण भएको नेकपाको एकता प्रक्रिया टुंगिएको घोषणा पनि गर्ने तयारी रहेको छ ।
यसअघि आइतबार बसेको नेकपा सचिवालयको बैठकले ७७ वटै जिल्लाका अध्यक्ष तथा सचिवको टुंगो लगाएको थियो ।