बुटवल,बैशाख ९ – नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलसहित आघा दर्जन केन्द्रीय सदस्यहरुले सरकारको चर्को आलोचना गरेका छन् ।
हिजो नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर ४ को सम्मेलनमा बोल्दै सरकारको निकै आलोचना गरेका केन्द्रीय नेताहरुले आज पनि रुपन्देही क्षेत्र नम्बर २ को सम्मेलन यस्तै गरी सरकारको कडा आलोचन गरे ।
आज नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले सुरु गरेका आयोजनाहरुको उद्घाटन र फोटो खिचाउँदैमा वर्तमान सरकारको एक वर्षभन्दा बढी समय खेर गएको बताए । नेता पौडेलले वर्तमान सरकारले विकासको प्राथमिकता छुट्टयाउन नसकेको बताउँदै उनले कम्युनिष्ट सरकारको नियत नै ठिक नभएको आरोप लगाए ।
नेपाली कांग्रेस क्षेत्र नम्बर–३ रुपन्देहीको भैरहवामा आयोजित क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै नेता पौडेलले कम्युनिष्टहरुले देश र जनताको बारेमा नसोची केवल पार्टीको बारेमा मात्रै सोचेको आरोप लगाएका हुन् । उनले सरकारका क्रियाकलापहरुले पूर्णरुपमा सरकार असफल सावित भएको समेत दाबी गरे ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले काँग्रेसले युद्ध जिते पनि लडाई हारेको टिप्पणी गरे । काँग्रेसको काम निर्वाचन जित्नु र सरकार बनाउने मात्र नभएकोले एकपटकको चुनाव हार्दैमा शीर निहुराउनुपर्ने अवस्था नआएको उनले बताए । आगामी निर्वाचनमा बहुमत ल्याउने गरी पार्टी परिचालन गर्नुपर्ने थापाले बताए ।
त्यस्तै नेता अर्जुननरसिंह केसीले सरकारले शान्ति सुरक्षा र अमनचयनमा कमजोर सावित भएको बताए । उनले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्नुले पनि सरकार असफल सावित भइसकेको दावी गरे । काँग्रेसले सबैलाई जोड्ने काम गरेको उनको भनाइ थियो ।
काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले केपी ओली सरकार ज्ञानेन्द्रपथमा अगाडी बढेको आरोप लगाए । उनले काँग्रेसको अगुवाइमा संविधान तथा महत्वपूर्ण परिवर्तनहरु भएको भन्दै संविधान र परिर्वतनको संरक्षण पनि काँग्रेसले नै गर्ने बताए ।
सम्मेलनमा सहभागी राजनीतिक विश्लेषक प्रकाश पोख्रेलले सम्मेलनको बारेमा प्रतिक्रिया दिदै बर्तमान सारकार अधिनायक वादी सोच बाट अगाडी बढिरहेकोले राष्ट्रियता र लोकतन्त्र बचाउने जिम्मा नेपालि काँग्रेस को काधमा आयकोले नेता बलियो हुने भन्दा पाटी बलियो बनाउने तर्फ आम कार्यकर्ता संगठित हुन जरुरी रहेको बताए।