आज वैशाख ११ गते, लोकतन्त्र दिवस मनाइँदैछ । २०६२÷०६३ सालको ऐतिहासिक लोकतान्त्रिक आन्दोलन सफल भएको १३ वर्ष पूरा भएको छ । आज लोकतन्त्र दिवसका रुपमा सरकारले विभिन्न कार्यक्रम गरि मनाउँदैछ । सार्वजनिक विदा भने कटौती भएको छ ।
राजधानी सहित सबै प्रदेशहरुमा लोकतन्त्र दिवसका रुपमा कार्यक्रम राखिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी दिनुभयो ।
२०६३ साल वैशाख ११ गते राती तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गर्नुभएको थियो ।
पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो ।
जनआन्दोलनमा कमाण्डरसमेत रहेका नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सर्वदलीय सरकारले २०६४ चैत २८ गते पहिलो संविधानसभाको चुनाव गराएको थियो ।
संविधानसभाको २०६५ साल जेठ १५ गतेको बैठकले नेपालमा राजतन्त्र अन्त्य भएको घोषणा गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देश बनाएको थियो । वैशाख ११ गतेको जगमा देशमा ठूला परिवर्तन भएका छन् ।
संविधानसभाबाट बनेको संविधानले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई संस्थागत गरेको छ । संघीय शासन प्रणालीको अभ्यास सुरु भएको छ । स्थानीय तह, प्रदेश र संघ गरी तीनै तहको चुनाव सम्पन्न भएर जनप्रतिनिधिले काम थालेका छन् ।
देशमा शान्ति र स्थायित्वको सुरुवात भए पनि समृद्धि र विकासको बाटोमा देश अघि बढ्न नसकेकोमा नागरिक निराश छन् । परिवर्तनलाई संस्थागत गर्ने र व्यवहारमा लोकतान्त्रिक चरित्र देखाउने काममा सरकार र राजनीतिक दल चुक्दा नागरिकका सपना अझै पूरा हुन सकेका छैनन् ।
लोकतन्त्रकै जगमा देशको राजनीति अघि बढिरहेकाले सुशासन र आर्थिक समृद्धिमा ध्यान दिन सरकार र दलहरुलाई दबाब बढेको छ ।
यो १३ बर्षको अवधिमा दोस्रो संविधानसभाबाट मुलुकले नयाँ संविधान प्राप्त गरी कार्यान्वयन भइसकेको छ । स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचन भएका छन् ।
नयाँ जनप्रतिनिधिले काम शुरु गरिसकेका छन् । तर, लोकतन्त्रमा भने अपेक्षा अनुसार काम हुन नसकेकोमा नागरिक भने असन्तुष्ट छन ।