विनाशकारी भूकम्प गएको बिहीबार चार वर्ष पूरा भएको छ । उक्त भूकम्पमा परी ८ हजार बढीले ज्यान गुमाउनु परेको थियो ।
गोरखा केन्द्रबिन्दु भएको पहिलो भूकम्प ०७२ बैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेट जाँदा गएको थियो ।
दोस्रो भूकम्प भने बैशाख २९ गते दिउँसो १२ बजेर ५० मिनेट जाँदा गएको थियो । पहिलो भूकम्प ७ दशमलव ८ रेक्टर स्केलको थियो भने दोस्रो ७ दशमलव ३ रेक्टर स्केलको थियो ।
भूकम्प गएपछि पनि धेरै दिनसम्म कम्पन आउने क्रम जारी थियो र अहिलेसम्म पनि सोको परकम्प आउने क्रम जारी नै छन् ।
भूकम्पको ४ वर्ष बित्दा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणमा ८० प्रतिशत उपलब्धि हासिल भएको जनाएको छ ।
अनुदान सम्झौता गरेका ७ लाख ६२ हजार ३०७ घरपरिवार मध्ये ६ लाख १२ हजार ९३५ घर पुनर्निर्माणको प्रक्रियामा सहभागी रहेको प्राधिकरणले जनाएको छ ।
यस्तै ५० प्रतिशत अर्थात ३ लाख ८२ हजार २७७ परिवारले घर बनाइसकेका काछन् ।
राष्ट्रिय प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले ३० प्रतिशत अर्थात २ लाख ३० हजार ५५८ परिवार निजी आवास पुनर्निर्माणको क्रममा रहेको जानकारी दिए ।
यस्तै भूकम्पबाट ७ हजार ५५३ विद्यालय क्षति भएकोमा निर्माण सम्पन्न र निर्माणाधीन गरी ८३ प्रतिशत प्रगति भएको छ ।
यस्तै स्वास्थ्य संस्थातर्फ ६६ प्रतिशत, पुरातात्विक महत्वको सम्पदातर्फ ५९ प्रतिशत, सुरक्षा निकायका भवनहरु ५६ प्रतिशत पुनर्निर्माण सम्पन्न भएको छ ।
प्राधिकरणले पुनर्निर्माण र पुनस्र्थापनाको कार्यहरु सम्पन्न गर्न सबैभन्दा ठूलो चुनौति वित्तीय व्यवस्थापन देखिएको जनाएको छ ।
चालू आर्थिक वर्षमा जम्मा १ खर्ब २३ अर्ब खर्च गर्ने परिमार्जित लक्ष्य लिइएको सीईओ ज्ञवालीले जानकारी दिए ।
बुधवार दिउँसो ३ बजेर ५ मिनेट जाँदा नौबिसे केन्द्रबिन्दु बनाएर ३.९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
सोअघि बिहान ६ बजेर २९ मिनेटमा ५.२ र ६ बजेर ४१ मिनेटमा ४.२ रेक्टर स्केलको भूकम्प गएको थियो ।