पाल्पाको माथागढी गाउँपालिकाले शिक्षामा नयाँ अभ्यास सुरु गरेको छ । गाउँपालिका आफैले पाठ्यक्रम निर्माण गरेर यसै शैक्षिकसत्रदेखि पठनपाठन सुरु गरेको छ ।
गाउँपालिकाभित्रका सबै विद्यालयमा कक्षा १ देखि ६ सम्म सय पूर्णाङ्कको हाम्रो माथागढी पुस्तक तयार पारी स्थानीय पाठ्यक्रम लागू गरेको छ । यो जिल्लामै स्थानीय पाठ्यक्रम लागु भएको नयाँ सुरुवात हो ।
हाम्रो माथागढी पाठ्यक्रममा स्थानीयस्तरका १६ विषयवस्तु समावेश गरिएको छ । जसअन्र्तगत माथागढीको चिनारी, माथागढीको ऐतिहासिक पृष्ठभूमि, स्थानीय जातजाति, भाषाभाषी, ऐतिहासिक महत्वपूर्ण व्यक्तिको जीवनी परिचय र वडावडाको जनसङ्ख्याको अवस्था, स्थानीय विविध संस्कृति, प्रचलित स्थानीय संस्कार, स्थानीय कला र सम्पदा छन् ।
त्यस्तै स्थानीय बोलीचाली र लिपि, व्यवसाय सीप र प्रविधि, उपचार विधि, जडीबुटीको अवस्था, खेल, भूगोल, आर्थिक गतिविधि, जीविकोपार्जन र पर्यटनको विषयवस्तु समेटिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगरले जानकारी दिनुभयो ।
केन्द्रीय पाठ्यक्रम विकास केन्द्र काठमाण्डौसँगको परामर्श तथा स्वीकृतिमा सरोकारवाला सबैको सल्लाह र सहयोगमा गााउँपालिकाले स्थानीयस्तरको पाठ्यक्रम तयार गरी लागू गरेको उहाँ बताउनुहुन्छ । चालू शैक्षिकसत्रबाट लागू गरेको हाम्रो माथागढी पाठ्यक्रमको प्रारुपमा स्थानीय पाठ्यक्रमको परिचय, साधारण उद्देश्य, माथागढीको स्थानीय पाठ्यक्रमको उद्देश्यमा आधारित छ ।
कक्षागत पाठ्यक्रम परिचय कक्षा १ र ६ को स्तर भिन्नताका आधारमा र माथागढी स्थानीय पाठ्यक्रमको कक्षा १ र ६ को कक्षागत उद्देश्य पाठ्यक्रमको विषयवस्तु रहेको छ । कक्षा १ देखि ८ सम्म एउटै भए पनि कक्षाअनुसारको त्यसभित्रको गहिराइ र विषयवस्तु सरलताबाट जटिलताको सिद्धान्तअनुसार रहनेछ । स्थानीय पाठ्यक्रम निर्माण समिति संयोजक अशेष भट्टराईले आधारभूत तहमा लागू भएको स्थानीय पाठ्यक्रम १०० पूर्णाङ्कको रहने बताउनुभयो ।
सैद्धान्तिक ५० र प्रयोगात्मक ५० पूर्णाङ्कको हुनेछ । मूल्याङकन प्रणाली कक्षा १ देखि ३ सम्म निरन्तर मूल्याङ्कनको आधारमा तोकिएको नमूनाअनुसार हुनेछ । कक्षा ४ देखि ८ सम्म परीक्षा प्रणालीअनुसार वस्तुगत, विषयगत तथा लामा छोटा प्रश्न समावेश गरी सैद्धान्तिक परीक्षाको मूल्याङ्कन गरिनेछ ।
आधारभूत तहअन्तर्गत लागु गर्ने भनिए पनि यस शैक्षिकसत्रमा कक्षा १ देखि ६ सम्म सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।