दूषित खानेपानीका कारण झाडा पखाला प्रभावित गुल्मीको मुसिकोट नगरपालिका वडा नं। ४ स्थित दजाकोट क्षेत्रमा पिउने पानी शुद्धीकरण जाँच गर्नका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी परीक्षण घुम्ती सेवा अर्थात् वाटर एम्बुलेन्स पठाएको छ ।
झाडापखाला प्रभावित क्षेत्रमा दूषित पानीका कारण रोगव्याधिको प्रकोप फैलिन नदिन खानेपानी मन्त्री बिना मगरको निर्देशनमा विभागले पानी शुद्धीकरण चेक गर्ने आधुनिक उपकरणसहितको वाटर एम्बुलेन्स त्यसतर्फ पठाएको हो । पानी शुद्धीकरण गर्ने पियुष, एक्वा ट्याब र ब्लिचिङ पाउडरलगायतका सामग्रीहरु बोकेर विभागको विज्ञ टोली दजाकोट गएको छ ।
स्थलगत रुपमै पानीको गुणस्तर जाँची पिउन हुने या नहुने भन्ने कुरा वाटर एम्बुलेन्सबाट थाहा हुन्छ । वाटर एम्बुलेन्समा आधुनिक प्रविधिको ल्याब जडान गरिएको हुन्छ । त्यस ल्याबको माध्यमबाट पानीको गुणस्तर चेक जाँच गरिन्छ ।
केही दिनदेखि झाडापखाला फैलिएका कारण गुल्मीको दजाकोटमा एक जनाको मृत्यु भएको छ भने करिब २ सय मानिसहरु बिरामी परेका छन् । त्यहाँको खानेपानीमा कोलिफर्म भएको बताइएको छ । दूषित पानीका कारण सिंगो गाउँकै जनजीवन प्रभावित भएको छ ।
ज्वरो आउने, पखाला लाग्ने तथा टाउको दुख्नेलगायतका समस्याले दजाकोटमा महामारी फैलिएको छ । त्यस क्षेत्रको पानीको मुहानमा धेरै कोलिफर्म भेटिएकाले झाडा पखालाको प्रकोप बढेको विज्ञहरुको भनाइ छ ।
पानीका कारण रोगव्याधि फैलिने सम्भावना बढी हुने हुँदा सबै किसिमका उपायहरु अपनाईने पानी परीक्षण विशेषज्ञ किशोर पाण्डेले बताउनुभयो ।
झाडापखला आंशिक रुपमा नियन्त्रणमा आएको छ । आइतबारसम्म झाडापखलाका बिरामीहरु देखिए पनि सोमबार बिहानैदेखि नयाँ बिरामीहरु नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका निमित्त प्रमुख श्रीकृष्ण भट्टराईले बताए ।
बिरामीहरुलाई लक्षित गरेर स्थानिय स्तरमै राखिएको स्वस्थ्य शिबिरमा बिहानै देखि थप कुनै पनि बिरामीहरु नआएको भट्टराईले बताए । सिङ्गो गाउँमा फैलिएको झाडा पखलाबाट आइतवारसम्म करिब २ सय जना बिरामी भएका थिए ।
झाडापखलाबाट दजाकोट ४ का १२ बर्षीय बालक रेशम सिंजालीको मृत्यु भएको छ । भने एक जनाको चितवन उपचार भइरहेको छ । गुल्मी अस्पतालमा उपचारत मध्ये सबै बिरामी निको भएर घर फर्किएको गुल्मी अस्पताल प्रमुख उत्तम पच्चाले बताए ।