अनिल खत्री
२० बैशाख, गुल्मी
गुल्मीको सिद्धबाबा माबिमा भूकम्प मापन यन्त्र (सिस्मोमिटर) जडान गरिएको छ । आज एक कार्यक्रमका बिच सिद्धबाबा माविमा सिस्मोमिटर जडान गरिएको हो । यन्त्रको रेसुङ्गा नगरपालिका गुल्मीका नगर प्रमुख डिल्लीराज भुसालले उद्धघाटन गर्नुभएको हो । विद्यालयमा जडान गरिएको उक्त यन्त्र शुभारम्भ गर्दै रेसुङा नगरपालिकाका मेयर भुसालले सिद्धबाबा आफैमा नुमना मावि भएपनि अझै नमुना भएको बताउनुभयो ।
उहाले यो उपकरणले सिद्धबाबालाई मात्रै नभएर भुकम्पको अवस्था, अध्ययन र जोखिमका बिषयमा सवैलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो । स्विट्जरल्याण्डको लुजान विश्व विद्यालयमा नेपालमा भूकम्पको जोखिम विषयमा विद्यावारिधी गरिरहेका नेपाली वैज्ञानिक शिव सुवेदीको पहलमा बिद्यालयमा सिस्मोमिटर जडान गरिएको बिद्यालयका प्राचार्य डोरबिक्रम श्रीसले बताउनुभयो ।
बिद्यालयलाई उपकरण प्रदान गर्दै सुवेदीले भूकम्पपछि नेपालमा यन्त्र उपकरणसँगै यससंग सम्बन्धी शिक्षालाई आवश्यकता अनुसार अगाडि बढाउन नसकिएको बताउनुभयो । उहाले अझै नेपालमा भूकम्पको जोखिमका विषयमा अध्ययन हुने कुरा शंकाको दृष्टीकोणले हेर्ने गरिएको बताउनुभयो ।
स्विट्जरल्याण्डको युनिभर्सिटी अफ लोजानमा यो बिषय अध्ययन गर्ने पहिलो नेपाली समेत रहेका सुवेदीले बिद्यार्थी मार्फत अभिभाव र समुदायलाई सचेत बनाउन बिद्यालयमा यो यन्त्र जडान गरिएको जानकारी गराउनुभयो । नेपालका २३ बिद्यालयमा यो उपकरण जडान गरिने उहाले बताउनुभयो ।
रेसुङ्गा नगरपालिकाका मेयर, जनप्रतिनिधी, बिद्यालय व्यावीथापन समितिका पदाधिकारी, शिक्षक लगायतलाई उपकरणको प्रयोग र महत्वको बारेमा सुवेदीले जानकारी गराउनुभएको थियो ।
स्विट्जरल्याण्डमा रहेको युनिभर्सिटी अफ लोजानको सहयोगमा नेपालका विभिन्न २३ विद्यालयमा यो यन्त्र जडान गर्ने अभियान रहेको छ । यन्त्रले नेपालदेखि विदेशसम्मका एक म्याग्निच्युड भन्दा माथिका सबै भूकम्प मापन गरी त्यसको विवरण सुरक्षित राख्ने गर्दछ ।