प्रदेश नं ५ का सांसद युवराज खनालले पाल्पाका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव समक्ष लालपुर्जा वितरण प्रक्रिया अगाडि बढाउन अनुरोध गर्नुभएको छ । उहाँले छिटोभन्दा छिटो लालपुर्जा वितरण प्रक्रिया अगाडि बढाउन अनुरोध गर्दै ध्यानाकर्षण गराउनुभएको हो ।
पाल्पाको रामपुर नगरपालिकाभित्र लालपुर्जा वितरण प्रक्रिया अगाडि बढ्न सकेको छैन् । व्यवस्थित घरघडेरी विकासका लागि सरकारले जग्गा दर्ता समिति आदेश जारी गरे पनि रामपुर नगरपालिकाभित्र लालपुर्जा वितरण प्रक्रिया अगाडि बढ्न नसकेको हो ।
सरकारले व्यवस्थित घरघडेरीका लागि लालपुर्जा वितरण गर्ने सम्बन्धमा जग्ग्गा दर्ता समिति गठन आदेश २०७५ जारी गरिसकेको छ ।
यसै अवस्थामा प्रदेश नं ५ का सांसद खनालले पाल्पाका प्रजिअ यादवसमक्ष लालपुर्जा वितरण प्रक्रिया अगाडि बढाउन अनुरोध गर्दै ध्यानाकर्षण गराउनुभएको बताइएको छ । यस विषयलाई गम्भीरता पूर्वक लिन र समयमा नै प्रक्रिया अगाडि बढाउन पनि उहाले प्रजिअ खनाललाई आग्रह गर्नुभएको छ ।
सो अवसरमा प्रजिअ यादवले तत्काल प्रक्रियागत रुपमा अगाडि बढ्ने आश्वासन दिनुभएको छ । प्रजिअको संयोजकत्वमा सम्बन्धित क्षेत्रका मालपोत कार्यालय प्रमुख सदस्यसचिव, नापी कार्यालयका प्रमुख, वन कार्यालयका प्रमुख र रामपुर नगरपालिकाका प्रमुख सदस्य रहने गरी पाँच सदस्यीय समिति समेत गठन भएको छ ।
तत्कालीन भूमिसुधारमन्त्री दलबहादुर रानाको समयमा लालपुर्जा वितरण गर्ने सम्बन्धमा प्रक्रिया अगाडि बढे पनि विभिन्न कारणले बीचमै प्रक्रिया रोकिन पुगेको थियो । रोकिएको प्रक्रिया भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले अगाडि बढाएको छ । यसै आर्थिक वर्षमा रामपुर नगरपालिकाभित्र रहेका ८५६ घरघडेरीलाई लालपुर्जा वितरण गर्ने गरी अगाडि बढेको भूमि व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बताउनुभएको छ ।
तीन दशकअघि देखि लालपुर्जाको आशैआशामा निराश बनेका रामपुरवासीमा लालपुर्जाका लागि सरकारले जारी गरेको जग्गा आदेशले खुशियाली छाएको थियो ।
२०७१ साल वैशाख २५ गते रामपुर गाविसबाट रामपुर नगरपालिका घोषणा भई नगरवासीका रुपमा बसोबास गर्दै आएका यहाँका स्थानीयवासीले आफू बसोबास गरेको घरघडेरीको लालपुर्जा नपाउँदा किनबेचमा निकै चुनौती झेल्दै आएका छन् ।
रामपुर नगरपालिकाका ८५६ घरघडेरी लालपुर्जाविहीन छन् ।