३० वैशाख, काठमाडौं – भारतमा प्रतिबन्धित नोटसहित ५ जना नेपाली पक्राउ परेका छन् । एक हजार र ५ सय दरका गरी १६ लाख बराबरको नोटसहित ५ जना नेपाली पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा धादिङका शम्भु परियार, दोलखाका रामविक्रम खड्का, कास्कीका सन्तोष थापा मगर, काभ्रेका धनध्वज तामाङ र राजेन्द्र घिसिङ रहेका छन् ।
महानगरीय प्रहरी परिसर, काठमाडौंले विशेष सूचनाका आधारमा ठमेलको होटल ब्लू मोहनबाट उनीहरुलाई पक्राउ गरेको हो ।
परिसरका डीएसपी होविन्द्र बोगटीले उनीहरुलाई गएराति पक्राउ गरिएको पुष्टिगर्नुभएको छ ।
उनीहरुले कहाँबाट र के प्रायोजनका लागि ती नोट ल्याए भन्ने खुल्न सकेको छैन । यद्यपि, नेपालमा रहेका प्रतिबन्धित नोट सटही नभइसकेका वेला कुनै पनि वेला सहटी खुला गरिने प्रलोभनमा कारोबार भएको हुनसक्ने आशंका गरिएको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।