बुटवल बैशाख ३१,
प्रदेश ५ सरकार आर्थिक वर्ष २०७६ र ०७७ का लागि योजनामा आधारित बजेट ल्याउने तयारीमा छ। असार १ गते प्रदेश सभामार्फत मुख्यमन्त्री शंकर पोखरेलले बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।
प्रदेशको पहिलो आवधिक योजनाको अवधारणा पत्र निर्माण भइसकेको र सोही योजनाका आधारमा बजेट निर्माण गर्न प्रदेश सरकार लागि परेको बताइएको छ।
पाँच वर्षको आवधिक योजना र मध्यमकालीन खर्च संरचनालाई ठोस आधार दिने गरी आगामी आर्थिक वर्षको बजेट तयार हुने प्रदेश योजना आयोगका उपाध्यक्ष डा।प्रकाशकुमार श्रेष्ठ बताउनुभयो।
बजेट निर्माणकै प्रक्रियामा रहेकाले अहिले नै यस्तो आकारको बजेट आउँछ भन्न सकिने अवस्थामा नरहेको उपाध्यक्ष श्रेष्ठको भनाई छ।
यद्यपि योजना आयोगले आगामी ४ वर्षसम्मका लागि प्रदेशलाई १२ खर्ब रुपैयाँ लगानी आवश्यक रहेको प्रक्षेपण गरेको श्रेष्ठले बताउनुभयो। योजना आयोगको प्रक्षेपणलाई मान्ने हो भने आर्थिक वर्ष २०७६र०७७ का लागि ३ खर्बको बजेट निर्माण हुनुपर्ने आवश्यकता छ।
तर बजेटको स्रोतलाई हेर्दा आवश्यक बजेटको एक तिहाई बजेट मात्र निर्माण हुने संकेत देखिएको छ। संघले प्रदेश ५ लाई आगामी आर्थिक वर्षमा वित्तीय समानीकरण अनुदानबापत ७ अर्ब ५४ करोड १ लाख र राजस्व बाँडफाँडबापत ९ अर्ब ९१ करोड २३ लाख गरी १७ अर्ब ४५ करोड रुपैयाँ दिने भएको छ ।
संघले प्रदेशका लागि छुट्याएको अनुदान, राजश्व बाँडफाँड र आन्तरिक राजश्वको अवस्थालाई हेर्दा योजना आयोगले आंकलन गरेको आवश्यकताबमोजिम बजेट नआउने देखिएको हो।
प्रदेश सरकारको आन्तरिक स्रोतबाट २ अर्व चालिस करोड रुपैयाँ राजश्वको प्रक्षेपण छ।
चालु आर्थिक वर्षको लागि मुख्यमन्त्री संकर पोखरेलले २८ अर्ब २९ करोड रुपैयाँको बजेट घोषणा गर्नुभएको थियो ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव किशोर जोशीले आवश्यकताअनुसार बजेटको आकार बढाउन प्रदेशले स्रोतको पहिचान गरिरहेको बताउनुभयो।
बजेट तयार गर्न प्रदेश योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा बनेको स्रोत अनुमान समितिको बैठकको निर्णयअनुसार आगामी आर्थिक वर्षका लागि मन्त्रालयहरूले विवरण तयार पारिरहेका छन्।
सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले प्रदेशले अवलम्बन गरेको आवधिक योजनाको अवधारणा पत्रअनुसार योजनाको प्राथमिकीकरणमा जुटेको बताउनुभएको छ ।