३१ वैशाख, सल्यान –
वनमा लागेको आगो निभाउने क्रममा सल्यानमा ३ जनाको मृत्यु भएको छ । गर्मीयाम सुरु भएसँगै जिल्लाका विभिन्न सामुदायिक वनमा भिषण आगलागी भएको छ । सामुदायिक वनमा लागेको आगो गाउँमा पसेपछि आगो निभाउने क्रममा ३ जनाको मृत्यु भएको हो ।
जङ्गलको आगो घरमा आउन थालेपछि निभाउने प्रयास गर्दै गर्दा छत्रेश्वरी गाउँपालिका ६ सिमपानीका ५५ वर्षीया पुन्टी बोहरा र शारदा नगरपालिका ९ दुवेरीका ६० वर्षीय गोवर्धन पुनको यही वैशाख २८ गते घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आगलागीमा गम्भीर घाइते भएका छत्रेश्वरी ६ सिमपानीका ४० वर्षीय खगेन्द्र बोहराको उपचारका क्रममा काठमाडौँमा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ । अहिलेसम्म आगलागीमा परेर छत्रेश्वरी ७ मा अन्नपात लत्ता कपडासहित आठ घर, कालीमाटी गाउँपालिका १ मा चार घर जलेर नष्ट भएका छन् ।
आगो लगाउने कार्यमा संलग्न भएको भन्दै एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । शारदा–२ मा रहेको चन्द्रपाला सामुदायिक वनमा आगो लगाउँदै गर्दा सोही ठाउँका रामबहादुर वलीलाई पक्राउ गरेर प्रहरीलाई जिम्मा लगाएको सशस्त्र प्रहरीले जनाएको छ ।