सिद्धबाबा माध्यमिक विद्यालय, तम्घास गुल्मीमा आज कक्षा १० का विद्यार्थीहरु,अभिभावकहरु,शिक्षक र समितिका पदाधिकारीहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
चौपक्षिय प्रयासद्वारा विद्यार्थीहरुको सिकाइउपल्बधीमा गुणात्मक सुधार ल्याउनुका साथै विद्यालयद्वारा लागु गरिएका नविनतम् कार्यक्रमहरुबारे अभिभावकहरुलाई जानकारी गराउने उद्देश्यका साथ अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षता तथा रेसुङ्गा नगरपालिका वडा नं ८ की जनप्रतिनिधि सीता आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विव्यस तथा शिक्षक अभिभावक सँघका पदाधिकारीहरु, कक्षा १० मा अध्यापन गर्ने शिक्षक, प्रधानाध्यापक, सहायक प्रधानाध्यापक,अभिभावकहरु तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
विद्यालयका सहायक प्रअ युवराज अर्यालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा विद्यालयका प्रअ डोर विक्रम श्रीसले समग्र विद्यालयका गतिविधिहरु तथा विद्यार्थीहरुको पठनपाठनमा गुणात्मक सुधारका लागि अभिभावक तथा विद्यार्थीहरुले ध्यान दिनुपर्ने कुराहरुबारे प्रकाश पार्नु भएको थियो ।
कार्यक्रमा शैक्षिक सत्र २०७५ का अभिभावक डिल्लीराज पाण्डे, विव्यसका सदस्य यमबहादुर विक, शिक्षक दुर्गा टण्डन, लगायतका वक्ताहरुले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम कक्षा १० का कमजोर विद्यार्थीहरुका लागि तत्काल सुधारात्मक कक्षाहरु सञ्चालन गर्ने, शिक्षक अभिभावक निरन्तर सम्पर्कमा रहने, विद्यार्थीहरु तथा विद्यालयका गतिविधिहरु विद्यालयको वेवसाइट र एप्लिकेशनमार्फत प्रकाशन गरिरहने लगायतका निर्णयहरुसहित सम्पन्न कार्यक्रम, कक्षा १० का कक्षाशिक्षकद्वय टीका खड्का र दुर्गा टण्डनको संयोजनमा सम्पन्न भएको थियो ।