भारतमा नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गरेका छन् ।
१७औँ लोकसभा चुनावमा भारतीय जनता पार्टी बीजेपीले ३०२ सिटसहित विजयी भएपछि मोदीले दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गरेका हुन।
नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा विदेशी पाहुनासहित झण्डै ६ हजार व्यक्तिका बीच भारतीय राष्ट्रपति रामनाथ कोविन्दले नरेन्द्र मोदी र मन्त्रिमण्डलका सदस्यहरुलाई सपथ खुवाएका हुन् । नरेन्द्र मोदीले भारतको १५औँ प्रधानमन्त्रीका रुपमा सपथ लिएका हुन् ।
नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा किर्गिस्तानका राष्ट्रपति सुरोनबी जीनबेकोव तथा बिमस्टेक राष्ट्रका सरकार प्रमुखहरु उपस्थित भएका छन् ।
मोदीको सपथ ग्रहणमा सहभागी हुने विशिष्ट पाहुनाहरुमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, भुटानका प्रधानमन्त्री लोते छिरिङ, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा र मौरिससका प्रधानमन्त्री प्रविन्द जगनाथ रहेका छन् ।
पहिलो कार्यकालमा नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क देशका सरकार प्रमुखलाई बोलाइएको थियो । त्यसबेला नेपालबाट तत्कालीन प्रधानमन्त्री सुशील कोइराला तथा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज शरीफलगायतका सार्क नेताहरु सहभागी थिए ।
यसपटक भने पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई भारतले निम्तो नै पठाएन । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भने विशेष कारणवश सहभागी हुन नसक्ने जनाएकी थिइन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धी तथा यूपीए अध्यक्ष सोनिया गान्धी पनि उपस्थित थिए ।
त्यस्तै खेलाडी तथा बलिउडका कलाकारहरु पनि सपथ ग्रहण समारोहमा उपस्थित थिए ।
मोदीको दोस्रो कार्यकालमा मन्त्रिमण्डलमा भने केही फेरबदल भएको छ । यस पटक बीजेपी अध्यक्ष अमित शाहलगायत केही नयाँ अनुहार मन्त्रिमण्डलमा समेटिएका छन् । भारतका पूर्व विदेश सचिव एस जयशंकर समेत मोदी सरकारमा समेटिएका छन् ।
३५२ सिट जितेको एनडीए गठबन्धनको प्रमुख घटक दल जनता दल युनाइटेड भने अहिलेलाई सरकारमा नजाने भएको छ ।