जेष्ठ २१ – सत्तारुढ नेकपाले पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । आज बोलाइएको बैठकमा केन्द्रीय नेताहरूको कार्यविभाजन गर्ने तयारी छ । संगठनात्मक एकीकरणका बाँकी काम बैठकका एजेन्डाका रूपमा राख्दै कार्यविभाजनको निर्णय लिने गरि एजेण्डा तय भइको नेकपाका सचिवालय सदस्य झलनाथ खनालले जानकारी दिनुभयो ।
बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ । कार्यविभाजन तय गर्न यसअघि दुई अध्यक्षबीच छलफल भएको थियो । महासचिव विष्णु पौडेलले कार्यविभाजन प्रस्ताव तयार पारी दुई अध्यक्षलाई बुझाउनु भएको छ ।
नेकपामा संगठन, स्कुलिङ, विदेश मामिला, प्रचार तथा प्रकाशन विभागको नेतृत्व तोकिएको छैन । संगठन विभागमा नेताहरुको चासो बढी देखिन्छ । नेकपामा ३२ विभाग छन् । मूख्यमा सचिवालय सदस्यलाई जिम्मा दिने तयारी छ ।
नेकपाको पोलिटब्युरो गठन भने अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली यूरोपबाट फर्केपछि मात्रै हुनेछ । प्रधानमन्त्री ओली २५ गते ९ दिनका लागि यूरोप जाने तयारी छ । बैठकले भूगोलका ७७ वटै जिल्लाका इन्चार्जको टुंगो लगाउने पनि तयारी गरेको छ ।