जेष्ठ, २५ – मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकारले आज देशभर प्रदर्शन गरेका छन् । विधेयकमा रहेका केही प्रावधानले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गरेको भन्दै नेपाल पत्रकार महासंघ, प्रदेश समिति र जिल्ला शाखाका अगुवाइमा मुलुकभर प्रदर्शन गरिएको हो । काठमाडौंमा भने दिउसो ३ बजे बबरमहलमा मानवसाङलो प्रदर्शन गरिएको छ । प्रदर्शनमा पत्रकार महासंघका पदाधिकारी, पूर्वअध्यक्ष, सदस्य र विभिन्न सञ्चार संस्थामा आवद्ध सञ्चारकर्मी सहभागी थिए ।
सरकारले संसद्मा पेस गरेको मिडिया काउन्सिल विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने प्रावधान राखिएको भन्दै त्यस सच्याउनु पर्ने मागसहित पत्रकार महासंघले आन्दोलन गरिरहेको छ । एक महिनादेखीको आन्दोलनबाट पनि सरकारले विधेयक सच्च्याउने तप्परता नदेखाएको भन्दै महासंघ अर्को चरणको आन्दोलनमा जाने तयारी गरेको जनाएको छ ।
बबरमहलको हातेमालो प्रदर्शन सुरु हुनुअघि सम्बोधन गर्दै महासंघका अध्यक्ष गोविन्द आचार्यले चाँडै बैठक बसेर तेस्रो चरणको आन्दोलन घोषणा गर्ने जानकारी दिनुभयो । आफूहरुको आन्दोलन कुनै विचारधारा विरुद्ध, सरकार ढाल्नमा केन्द्रित नरहेको स्पष्ट पार्दै प्रेस स्वतन्त्रताको लागि भएको उहाँले बताउनुभयो । अध्यक्ष आचार्यले संसद्मा पेस भएको मिडिया काउन्सिल विधेयक हुबहु पास भएमा पत्रकार महासंघ र सञ्चार क्षेत्रले अस्वीकार गरी महासंघले नै अलग्गै आचारसंहिता बनाउने चेतावनी दिनुभयो ।