जेष्ठ २७,
हिजो साँझ वर्षासँगै आएको हावाहुरी र चट्याङका कारण ठूलो क्षति भएको छ । एक जनाको मृत्यु समेत भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा पर्साको ठोरी गाउँपालिका १ का २१ वर्षका राजु विष्ट रहेका छन् । चट्याङ लागेर उनको मृत्य भएको प्रहरीले जनाएको छ ।
घरदेखि मुनि खेतमा भैँसी चराउन गएका बेला चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । दार्चुला जिल्ला घर भएका विष्ट कक्षा ११ को परीक्षा सकेर ठोरीस्थित मावली घरमा दुई सातादेखि बस्दै आएका थिए । पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार हुरीले वीरगन्ज महानगरपालिकामा मात्रै पाँचजना घाइते भएका छन् ।
वीरगञ्जको लिंकरोडमा रहेको सामुदायिक रेडियो नारायणी एफएमको टावर र सोलार प्यानलमा क्षति पुगेपछि साँझ ६ बजेपछि रेडियो प्रशारण अवरुद्ध भएको छ ।
यसअघि कैलाली र कञ्चनपुरमा आएको हावाहुरीका कारण दुई जनाको मृत्यु भएको थियो । हावाहुरीका कारण कैलालीमा ७६ जना घाइते भएका थिए भने कञ्चनपुरमा २६ जना घाईते भएका थिए
यस्तै गुल्मी मा पनि हावाहुरीले बिभिन्न ठाउमा क्षति पुर्याएको थियो । हावाहुरीले गुल्मीको छत्रकोट गाउपालीका वडा नम्बर ६ दौघाका ५- ७ वटा घरका छाना उडाएको थियो ।
यस्तै अर्घाखाँचीमा दुई दर्जनभन्दा बढी घरमा क्षति पुगेको थियो ।
हावाहुरीले अर्धाखाचीका ६ वटै स्थानीय तहका दुई दर्जनभन्दा बढी घरमा क्षति पु¥याएको थियो ।
यस्तै, हावाहुरीले पोल ढलेकाले विद्युत सेवा अवरुद्ध भएको थियो ।
यस्तै हावाहुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा एक बालिकाको मृत्यु भएको थियो । हावाहुरीले उडाएको घरको जस्तापाता जस्तापाताले लागेर विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणी बस्ने लालन यादवको १० वर्षीया छोरी अञ्जलीको मृत्यु भएको थियो।
हावाहुरीका कारण नेपाल भारत सीमा त्रिवेणी व्यारेज पुलमा सिसीटिभी अनुगमनका लागि स्थापना गरिएको अस्थायी प्रहरी पोष्टमा समेत क्षति पुगेको थियो ।