जेठ २७ बुर्तिबाङ
ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र यस क्षेत्रका समुदायको साझा गहना भएकोले यसको ब्यबस्थापन र गुणस्तरिय सेवा प्रवाहमा सबैको साथ सहयोग र जिम्मेवारी रहनुपर्ने बताउनुभएको छ ।
ढोरपाटन नगरपालिका वडा नं १ बुर्तिबाङ स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित सामाजिक परिक्षणको आम भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

सामाजिक परिक्षण कार्यको पहिलो चरणमा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन तथा व्यवस्थापन समिति सँग अन्तरकृया, दोस्रो चरणमा स्वास्थ्यकर्र्मीहरु सँगको अन्तरकृया, तेस्रो चरणमा स्वास्थ्य आमा समुह सँगको अन्तरकृया, चौथो चरणमा दलित बस्तीमा समुदायमा विषय केन्द्रित छलफल गरिएको थियो ।
अभियानको क्रममा ढोरपाटन नगरपालिका वडा नं १ का विभिन्न स्थानमा तथ्याङ्क संकलन, गरिएको थियो । सेवा केन्द्रले प्रवाह गरेका सेवा सुविधा, त्यहाँको सुसासन, पार्दशिता र जवाफदेहिता लाई प्रभावकारी बनाउने कार्यक्रमको मुख्य उद्येश्य रहेको छ ।
आम भेलामा सामाजिक परिक्षण कार्यको प्रस्तुतिकरण सामाजिक परिक्षक मञ्जु शर्मा चालिसेले प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा भेलामा उपस्थित यस क्षेत्रका समुदायले प्राथमिक स्वास्थ्य केन्द्रबाट पाउने सेवा सुविधालाई थप व्यवस्थित र प्रभावकारी बनाउन सुझाब दिएका थिए ।

स्वास्थ्य कार्यालयमा नेपाल सरकारले तोकेको दरबन्दी बाहेक ढोरपाटन नगरपालिकाबाट ब्यबस्थापन गरी थप स्वास्थ्यकर्मीहरु मार्फत २४ सैँ घण्टा सेवा पाएको भन्दै खुसि ब्यक्त गरेका थिए ।
आम भेलामा उठेका प्रश्न, जिज्ञासा र गुनासाहरुको ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेल, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख कृष्णहरी श्रेष्ठ, प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष चित्र भण्डारीले प्रतिवद्वता सहित स्पष्ट पार्नु भएको थियो ।
सामाजिक परिक्षण कार्यको आम भेलामा बुर्तिबाङ स्थित जनप्रतिनिधी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, संघ संस्थाका प्रतिनिधीहरु, संञ्चारकर्मी, आमा समुह, विद्यालयका प्रतिनिधीहरु, स्थानियबासी लगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।

आम भेला ढोरपाटन नगरपालिका वडा नं १ का वडा अध्यक्ष एवं बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष चित्र भण्डारीको अध्यक्षता, सदस्य चिन्तामणी शर्माको स्वागत र समाजिक परिक्षक थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।