जेठ २९
पश्चिमी वायुको प्रणाली सुदुर पश्चिम नेपालबाट बुधबार बिहान प्रवेश गरिसकेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ । यो प्रणालीले हावाहुरीसहित मेघ गर्जन गराउने र मध्यम खालको वर्षा गराउने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद् समीर श्रेष्ठका अनुसार बिहान सबेरै भारतको उत्तराखण्डमा रहेको सो वायु नेपालतर्फ छिरेको हो । उक्त वायु ४०–५० किमी प्रतिघण्टाको दरले बहेको जनाउँदै मौसमविद् श्रेष्ठले संरचना कमजोर भएको अवस्थामा असर गर्न सक्ने भएकोले सतर्क रहनुपर्ने बताउनुभएको छ ।
सो वायु छिटपुट वर्षासँगै आउने र वायु गइसकेपछि थप वर्षाको सम्भावना रहेको जनाइएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका पश्चिमी भूभागहरूमा सामान्य देखि पूर्ण बदली रहने र पूर्वी र मध्य भूभागहरूमा आंसिक देखि सामान्य बदली रहने जनाइएको छ ।
पूर्वी तथा मध्य भूभागका थोरै स्थान र पश्चिमी भूभागका केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाइएको छ ।
सुदूरपश्चिममा हावाहुरी चलिरहेको र हल्का वर्षा भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । यसअघि २३ जेठमा आएको हावाहुरीले ठूलो धनजनको क्षति गरेको थियो । जसमा दुईजनाको ज्यान जानुका साथै एक सय बढी घाइते भएका थिए ।
भोलि बिहीबार पनि देशभरी नै आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य भूभागका केही स्थानहरुमा र पश्चिमी पहाडी भूभागका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जनाइएको छ । त्यस्तै शुक्रबार पनि देशका विभिन्न भागमा आंशिक बदली रहने र मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।
अहिले गुल्मी लगायत छिमेकि जिल्लाहरुमा पनि मौसम बदलि भएको छ । केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले सचेत रहन मौसमबिदले भनेका छन् ।