प्रेम सुनार
बुटवल, असार–७ –
आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै धुर्कोट गाउँपालिकाले प्रदेश ५ मै पृथक एउटा नीति अवलम्बन गरेको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले हालसम्म महिलाहरुलाई विकास निर्माणमा किनाराको साँक्षी बनाउँदै उपभोक्ता समितिमा झारा टार्न राख्दै आएकोले अब त्यस्ता उपभोक्ता समितिहरु खारेज गरिने चेतावनी दिए ।
अध्यक्ष पोखरेलले अब कुनै पनि विकास निर्माणको उपभोक्ता समितिमा पदाधिकारी सहित ४५ प्रतिशत महिला हुनुपर्ने, रकम निकासी गर्दा चेकमा अनिवार्य महिला पदाधिकारीको हस्ताक्षर हुनैपर्ने धुर्कोट गाउँपालिकाले नीति अगाडी सारेको बताए ।
उनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा महिला, जनजाती, दलित, अपाङ्ग, आदिवासी लगायतको पछाडी परेको समुदाय र गरिबीको रेखामुनि रहेका अन्य समुदायलाई पनि आत्मनिर्भर बनाउनेमा जोड दिएका छन ।
छवाछुत लगाएतका अन्धाविश्वास अन्त्यका लागि गाउँपालिका कडा रुपमा प्रस्तुत हुने र विभेद अन्त्यका लागि सबै पक्षको सहयोगका लागि उनले अपिल गरे । खरको छानामुक्त गाउँपालिका कार्यक्रम अन्तर्गत ८० प्रतिशत घरधुरीमा टिनको छाना लगाईएको, विपद व्यवस्थापनमा अनुदानको कार्यक्रम सञ्चालन भएको दलितहरुको परम्परागत पेशालाई व्यवसयीकरण गरिएको उनले बताए ।
५ नं. प्रदेश मै पहिलो पटक धुर्कोट गाउँपालिकाले कार्यालय भवन, सभाहल खेलमैदान निर्माण गरि सकेको छ । २०७८ लाई धुर्कोट भ्रमण वर्ष मनाउने घोषणालाई साकार पार्न समस्त धुर्कोट बासी सक्रिय हुन उनले आग्रह गरे ।
धुर्कोट परमानन्द बहुमुखी क्याम्पस सहित त्यहाँको शैक्षिक क्षेत्रको स्तरोन्नतीका लागि उनले विभिन्न कार्यक्रम अगाडी सारेका छन । धुर्कोटका स्वास्थ्य चौकीहरुमा चौबीसै घण्टा प्रसुती सेवा सञ्चालनमा ल्याईने घोषणा गरेका छन ।
धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रलाई संघीय सरकार मार्फत १५ सैयाको अस्पताल बनाईने उनले जानकारी दिए । पुर्वाधार विकास तर्फ सबै वडाहरुमा मोटरबाटो पुगेको र त्यसको स्तरोन्नतीका लागि गाउँपालिकाले बजेट छुट्याउने बताए ।
कार्यक्रममा उपाध्यक्ष शिवबहादुर खत्री, निमित्त प्रमुख प्रशाशकिय अधिकृत नारायण फुल्लेल सहजिकरण गरेका थिए ।
नीति तथा कार्यक्रम माथि भोलि देखि छलफल हुने र असार १० गाउँ सभामा बजेट प्रस्तुत गरिने प्रशासन शाखा प्रमुख ईश्वरी भण्डारीले जानकारी दिए ।