काठमाडौं ,
असार ८ –
आज बिहानै देखि देशका बिभिन्न स्थानमा वर्षा भइरहेको छ । बिहिबार देखि नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन क्रमशः पश्चिमतिर विस्तार हुँदै पूरै नेपाल ढाक्न थालेको छ।
मनसुनले अब दुई दिन पश्चिम क्षेत्रका विभिन्न स्थानमा भारी वर्षा गराउने भएको छ। हिजो मनसुन मध्यक्षेत्रका केही भेग र पश्चिममा बढी सक्रिय रहेको थियो ।
गएरातिदेखि नै मध्यक्षेत्रमा सक्रिय रहेको मनसुन पश्चिम पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमविद् सुवास रिमालले पश्चिम क्षेत्रमा पानी पर्दा खोलाको सतह बढ्ने र पहाडी भेगमा पहिरो जाने सम्भावना रहेको जानकारी दिनुभयो।
महाशाखाले हिजो विशेष खबर जारी गर्दै मध्य र पश्चिममा देखिएको बादलको प्रणाली शक्तिशाली भई पश्चिमतिर सरिरहेको जनाएको छ। त्यसैले आज पश्चिमका धेरै स्थानमा मध्यम र केही स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ।
आज राति देशको पश्चिमी भूभागहरुमा सामान्य देखि पूर्ण बदली हुने र पूर्वी , मध्य भेगमा आंशिक देखि सामान्य बदली रही पूर्व तथा मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।
पश्चिमी भूभागका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ र उच्च हिमाली भूभागहरुमा हिमपातको पनि सम्भावना रहेको जनाइएको छ ।
त्यस्तै भोलि सोमबार देशैभरी आंशिकदेखि सामान्य बदली रहने र पूर्वका केही स्थान तथा मध्य तथा पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको जनाइएको छ ।
आउँदो मंगलबार दिउँसो पनि देशैभरी आंशिकदेखि सामान्य बदली रही पूर्वका केही स्थानहरु तथा मध्य र पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको जनाइएको छ ।
यसैबिच आज गण्डकी प्रदेश र कर्णाली प्रदेश तथा चुरे क्षेत्रका साना खोलाहरुमा तीब्र वहावको संभावना रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
सो महाशाखाले जारी गरेको बाढी सम्बन्धी सूचनामा भोलि बिहान सम्म तराई र पहाडको बेसीहरुमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
माथि उल्लेखित क्षेत्रका पहिरोग्रस्त क्षेत्रहरुमा लेदो सहित आकस्मिक वहावको सम्भावना रहेको जनाइएको छ । भोलि दिउँसो र पर्सि भन्ने जोखिम न्यून रहेको सो सूचनामा उल्लेख छ ।