काठमाडौं -निर्माणाधीन मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइन सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ ।
सम्भवतः यसै महिनाको अन्त्यदेखि मुलुकमा पाइप लाइनबाट पेट्रोल भित्रिने भएको छ ।सञ्चालनको तयारी अन्तिम चरणमा पुगेपछि यस्तो सम्भावना देखिएको हो ।
नेपाल आयल निगमका अनुसार मुलुककै पहिलो यो अन्तरदेशीय पाइप लाइनबाट डिजेल र पेट्रोल आयात सुरु हुने छ । पाइप लाइनबाट पेट्रोलियम पदार्थ आपूर्तिका लागि मुख्य काम सम्पन्न भइसकेको छ । केही सहायक काम मात्र बाँकी रहेका छन् ।
निगमका आपूर्ति तथा वितरण विभागका उपमहानिर्देशक विनीतमणि उपाध्यायले मोतिहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनबाट असार अन्तिमदेखि पेट्रोलियम पदार्थ आपूर्ति सुुरु हुने जानकारी दिए ।
उनका अनुसार नेपाल र भारतको सो सडकखण्डमा पेट्रोलियम पाइप लाइन बिछ्याउने काम सम्पन्न भइसकेको छ ।