काठमाडौ ,
असार ९ –
आज मुलुकभर पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज पूर्व, पश्चिमका केही स्थान र मध्यका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यही असार ५ गते पूर्वी भेगबाट नेपालमा प्रवेश गरेको मनसुन क्रमशः मध्य भूभाग हुँदै सुदूरपश्चिमसम्मै फैलिएको छ ।
अहिले बिहान सुदूरपश्चिको तराई क्षेत्रमा पूर्ण बदली रहेको र केहीबेरमै मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । पूर्व र मध्य क्षेत्रमा भने दिउँसोदेखि मौसम बदली भई पानी पर्ने सम्भावना छ ।
मध्य क्षेत्रका केही स्थानमध्ये काठमाडौं उपत्यकामा पनि आज दिउँसो र राति वर्षाको सम्भावना रहेको मौसमविद् श्रेष्ठको भनाइ छ ।
हिजोको तुलनामा आज वर्षाको अनुपात केही कम हुने जनाइएको छ । भारी वर्षा नभए पनि सुदूरपश्चिमको तराई क्षेत्रमा भने मेघगर्जनसहित वर्षा हुने सम्भावना छ ।
आगामी तीन दिनसम्मको अनुमानमा लगातार झरी हुने सम्भावना नरहेको मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो ।