असार १० –
विप्लव नेतृत्वको नेकपाले आहृवान गरेको बन्दले मंगलबार देशभरको जनजीवन प्रभावित भएको छ । आफ्नो समूहका सर्लाही इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा विप्लव नेतृत्वको नेकपाले नेपाल बन्दको आहृवान गरेको हो ।
बन्दको प्रभाव सवारी आवागमनसँगै शैक्षिक संस्था, कलकारखाना लगायतमा पनि परेको छ । बन्दका कारण लामो दूरीका गाडी चल्न सकेका छैनन् ।
बन्दका कारण बिहानै आवतजावत गर्ने सर्वसाधारण समस्यामा परेका छन् ।
बन्दको प्रभाव गुल्मी सगै देशका अन्य भागमा पनि परेको छ । देशका ठूला तथा साना सहरमा आन्दोलनकारीको निशानामा पर्ने त्रासमा सवारीसाधन चलेका छैनन् । सवारी साधनसँगै शैक्षिक संस्था र कलकारखानामा पनि बन्दले प्रभावित भएका छन् ।
बन्दकर्ता सडकमा नदेखिए पनि काठमाडौं उपत्यकामा बिहान बन्दको असर देखिएको छ । अन्य दिनको तुलनामा काठमाडौं उपत्यकाका सडक बिहान सुनसान देखिएका छन् ।
निजी सवारी फाट्टफुट्ट चले पनि बन्दको त्रासले सार्वजनिक सवारी नगन्य मात्रामा चलेका छन् । सडकमा साविकअनुसार सवारी साधन नचल्दा जनजीवन प्रभावित भएको छ ।
कतिपय स्थानमा शंकास्पद वस्तु भेटिएपछि जनजीवन प्रभावित बनेको छ । काठमाडौंको कीर्तिपुरस्थित नयाँबजार गेट नजिक भेटिएको शंकास्पद बस्तु भेटिए पनि उक्त बस्तु बम नभएको खुलेको छ ।
प्रहरीका अनुसार प्लास्टिकको भाँडोमा माटो भरेर राखिएको थियो । यद्यपि बम भएको आशंकामा स्थानीयले खबर गरेपछि नेपाली सेनाको टोलीले सो क्षेत्र वरपरको नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।
ललितपुरको जावलाखेल खेल मैदान अगाडि भेटिएको शंकास्पद बस्तु पनि बम नभएको पुष्टि भएको छ ।
यस्तै अछाममा दुईवटा वडा कार्यालयमा आगजनि भएको छ। पञ्चदेवल विनायक नगरपालिका –३ को वडा कार्यालय र ढकारी गाउपालिका ५ को वडा कार्यालयमा आगजनी भएको हो।
वडा कार्यालयका कागजातहरु जलेर नस्ट भएको प्रहरीले बताएको छ।
सर्लाही इञ्चार्ज कुमार पौडेल गत असार ५ गते प्रहरीको गोलीबाट मारिएका थिए ।
प्रहरीले मुठभेडका क्रममा पौडेल मारिएको बताए पनि विप्लव समूहले नियन्त्रणमा लिएर गैरन्यायिक हत्या गरिएको भन्दै सरकारको आलोचना गरेको छ ।
यो हत्या प्रकरणमा विप्लवसँगै सत्तारुढ तथा विपक्षी दलका नेताले समेत सत्यतथ्य छानबिन गर्न माग गरेका छन् ।