काठमाडौ,
असार १८ –
एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले चीनलाई १० विकेटले पराजित गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको चीनले २३।१ ओभरमा सबै विकेट गुमाएर ५३ रन बनाएको थियो ।
चीनलाई सस्तैमा समेट्न नेपालका सागर ढकालले ६ विकेट लिए । ९।१ ओभर बलिङ गरेका सागरले ३ ओभर मेडन राख्दै १९ रन खर्चिएर ६विकेट लिएका हुन् । यसैगरी ७ ओभर बलिङ गरेका तीलकराज भण्डारीले ३ ओभर मेडन राख्दै १५ रन खर्चिएर ३ विकेट लिए । कमलसिंह ऐरीको नाममा १ विकेट रह्यो ।
चीनका गुहावो गो र लिङ चेनले समान १३–१३ रन बनाए पनि अरु ब्याट्सम्यानले व्यक्तिगतरुपमा अधिकतम ५ रन पनि जोड्न सकेनन् । नेपालले अतिरिक्त ७ रन दिन पुग्यो ।
५४ रनको सामान्य लक्ष्य नेपालले ५ ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गरेको थियो ।
नेपालको जितमा पवन शर्राफ र रित गौतमले नट आउट पारि खेले ।
पवनले पाँचौ ओभरमा २ छक्का र २ चौकाको मद्दतले २१ रन जोडेपछि नेपाल सहजै विजयी भयो । समग्रमा पवन ४६रनमा नट आउट रहँदा रित गौतम १० रनमा नट आउट रहे ।
बुधबार पनि पराजित भएको चीन दुवै खेल गुमाउँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
यो समूहबाट नेपाल र सिंगापुर सेमिफाइनलमा पुगेका छन् । सेमिफाइनलमा समूह विजेता र उप विजेताको टुंगो नेपाल र सिंगापुरबीचको खेलको नतिजाले तय हुने छ ।
मलेसियामा जारी खेलमा नेपाल समूह ए मा रहेको छ। नेपालको समूहमा नेपाल, सिंगापुर र चीन रहेका छन्। नेपालको समूहमा रहेको म्यानमारले अन्तिम समयमा नाम फिर्ता लिएपछि समूह ए मा ३ टिम मात्र छन्। यस्तै अर्को समूहमा मलेसिया, भुटान, हङकङ र थाइल्याण्ड छन्। दुवै समूहको शीर्ष दुई स्थानमा रहने टिम सेमिफाइनलमा पुग्नेछन्।