काठमाडौं
असार १८,
लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदमा पदपूर्तिका लागि प्रकाशित गरेको विज्ञापनमा चार लाख ४१ हजार एक सय ४१ जनाले आवेदन दिएका छन् ।
नौ हजार एक सय ६१ पदका लागि गरिएको विज्ञापनमा माग गरेको पद भन्दा ४८ गुणा बढी आवेदन परेको हो ।
आवेदन दिनेमा एक लाख तीन हजार पाँच सय ६७ जना महिला, ४३ हजार तीन सय २० जना आदिवासी जनजाति, २४ हजार ९० जना मधेसी, तीन हजार ९१ जना दलित, एक सय ४६ जना अपांगता भएका व्यक्ति र एक सय १६ जना पिछडिएका क्षेत्रका आवेदनकर्ता रहेका आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आयोगले विज्ञापन आवेदनबाट १४ करोड, चार लाख ११ हजार ५० रुपैयाँ राजस्व संकलन भएको छ ।
लोक सेवा आयोगको उक्त विज्ञापनमा असार १० गतेसम्म आवेदन दिने म्याद तोकिएको थियो । दोब्बर दस्तुर तिरेर थप एक हप्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । दोब्बर दस्तुर तिरेर पनि आवेदन गर्ने मिति गएराति १२ बजेबाट सकिएको थियो ।
आयोगको विज्ञापन समावेशी नभएको भन्दै संसदको राज्य व्यवस्था समितिले विज्ञापन रोक्न निर्देशन नै दिएको छ । यद्यपी आयोगले विज्ञापन रोकेको छैन ।
विभिन्न संघ संस्थाले विज्ञापनको विरोधमा सार्वजनिक प्रदर्शनसमेत गरेका छन् । सर्वोच्च अदालतमा समेत विज्ञापनविरुद्ध रीट परेको छ ।