काठमाडौ ,
असार २० –
एसीसी यू–१९ मा एसिया कपको इर्टन रिजन छनोटमा नेपालले सिंगापुरलाई ३२७ रनको लक्ष्य दिएको छ ।
रित गौतमको शतकसँगै सिंगापुरविरुद्ध टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ५० ओभरमा ४ विकेट गुमाएर ३२६ रन बनायो ।
नेपालको सुरुवात राम्रो रह्यो । ऋत गौतम र पवन शरार्फले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरे । पवन ४५ रनमा आउट भए । खडकबहादुर बोहोराले गौतमसँग १३१ रनको महत्वपूर्ण साझेदारी गरे । बोहोरा ९० रनमा आउट भए । विशाल विक्रम केसी १ र कप्तान रोहितकुमार पोडेल मात्र ७ रनमा आउट भए । तर कुशल मल्लले आक्रामश पारी खेल्दै अर्धशतक बनाए ।
पाँचौं नम्बरमा आएर कुशल मल्लले विष्फोटक ब्याटिङ गरेपछि नेपालले ३०० रनको योगफल पार गरेको हो । ४७.१ ओभरमा रितले १३१ बलमा शतक प्रहार गरे । उनले डीप स्क्वायर लेगमा चौका प्रहार गरी शतक बनाएका हुन् । रितले १३७ बलमा ११५ रनको अविजित शतकीय पारी खेले ।
कुशलले २३ बलमा ५१ रनको विष्फोटक अर्धशतकीय पारी खेले । पारीको अन्तिम ओभरमा सिंगापुरका बलर प्रणव सुदर्शनको बलमा ४ चौका र १ छक्का प्रहार गरी उनले अर्धशतक पूरा गरेका हुन् ।
बलिङतर्फ सिंगापुरका प्रणव र विनित मेहताले २–२ विकेट लिए ।
पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरी सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको साविक विजेता नेपालले यस खेलमा जित हासिल गरे समूह ए को विजेता बन्नेछ ।