काठमाडौ ,
असार २१ –
एसीसी १९ वर्ष मुनिको पूर्वी क्षेत्रिय क्रिकेटको सेमिफाइनलमा नेपालले आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्ने भएको छ ।
समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको नेपालले समूह ‘बी’ को उपविजेता मलेसियासँग खेल्ने भएको हो ।
प्रतियोगिता अन्तर्गत आज समूह ‘बी’ को अन्तिम लिग खेलमा हङकङसँग ३ रनले पराजित भएपछि मलेसियाले नेपालसँगको खेल निश्चित गरेको हो ।
क्वालालम्पुरस्थित किनरारा ओभलमा आज भएको हङकङले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको मलेसिया ४९ ओभर १ बलमा अलआउट हुँदै १ सय ६९ रनमा समेटियो ।
यसअघि हङकङले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो ।
नेपाल र मलेसियाबीचको खेल सोमबार हुनेछ । नेपालले यसअघि हिजो सिंगापुरलाई पराजित गर्दै समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
नेपालले २ खेलबाट ४ अङ्क जोडेको छ । २ अङ्क जोडेको सिंगापुर उपविजेता बनेको छ ।