स्याङ्जा ,
असार २१ –
स्याङ्जाको आँधीखोलामा डुबेर शनिबार एक बालकको ज्यान गएको छ ।
गल्याङ नगरपालिका वडा नम्बर ११ मुडकिल्लाका नेत्रलाल भट्टराईका ८ वर्षीय छोरा सुजन भट्टराईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक नबिन कृष्ण भण्डारीले जानकारी दिनुभयो ।
शुक्रबार परीक्षा दिएर घरमा आएपछि दिउँसो २ बजेदेखि बालक बेपत्ता भएको भनी परिवारले प्रहरी चौकी गल्याङ्मा उजुरी दिएलगत्तै प्रहरी टोली खोजीमा खटिएको थियो ।
शनिबार बिहान मात्रै आँधिखोला जल विद्युत केन्द्रको ड्याम साइटमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भईरहेको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।
यस्तै पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीमा यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
खडक नगरपालिका ५ स्थित खरचुहिया नजिकको चापिन खोलाको पुलमा शनिबार यात्रुबाहक बसको ठक्करले मोटरसाइकल चालक वीरेन्द्र चौधरीको मृत्यु भएको हो।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ग १ ख ३७८८ नम्बरको बसले सोही दिशामा जाँदै गरेको स ११ प ९८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।