काठमाडौं,
असार २२ –
देशभर मनसुन सक्रिय हुन थालेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार विस्तारै मनसुनी न्यून चापीय रेखा भारतबाट नेपालतर्फ सर्न थालेकाले देशभरको मौसम बदली भएर भारी वर्षा हुने मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो ।
मौसमविद् पोखरेलअनुसार शनिबारबाटै देशको धेरैजसो ठाउँमा पानी परेपनि आइतबारबाट सो क्रम अझ बढ्नेछ । विभागका अनुसार आइतबार दिउँसो मध्य र पश्चिमी क्षेत्रको पहाडी भू–भागमा भारी बर्षा हुने सम्भावना छ ।
त्यस्तै आइतबार राति पूर्वका केही ठाउँमा भारी वर्षाको सम्भावना छ । यो क्रम मम्तिमा तीन दिन रहने बताइएको छ ।
यसैवीच बाढी पुर्वानुमान विभागले आइतबार देशका पश्चिमी क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ ।
चुरे र पहाडका साना नदीमा बेलुकासम्म बहाव उच्च हुने तथा केहीमा आकस्मिक बाढी आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ ।
विभागले १ हप्ता सम्म देशभरका प्राय नदीमा बहाव बढ्दो क्रममा रहने र त्यसपछि नदीमा बहाव उच्च हुने पूर्वानुमान गर्दै तटिय क्षेत्रमा रहेका कृषि उपज सम्भव भएसम्म चाँडो थन्क्याउन अनुरोध गरेको छ ।
यता बाढीको खतरा रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
वाग्मती नदीको जलाधार क्षेत्रमा समेत बहाव बढ्ने र काठमाडौँ उपत्यका क्षेत्रमा शाखा नदीहरुले साँझपछि सतर्कता तह पार समेत गर्न सक्ने जनाइएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा मात्र सर्वाधिक ७२ मिलिमिटर वर्षा भएको छ ।
यस्तै आज देशैभरका प्राय नदीनालाहरु बढ्दो क्रममा रहने पनि महाशाखाले जनाएको छ ।
त्रिशुली, बुढीगण्डकी, कोशी, मस्र्याङदी, सेती, दुधकोशी, सुनकोशी, तामाकोशी, कालीगण्डकी र कर्णालीमा आज मध्यान्हपछि भोलिसम्म सबै नदीहरुमा बहाव बढ्ने सतर्कता अपानाउन महाशाखाले जनाएको छ ।