अर्घाखाँची
असार २३
अर्घाखाँचीमा कार दुर्घटना भएको छ । दुर्घटना हुँदा त्यसमा सवार पाँचजना घाइते भएका छन् ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर–१०, बिहार, मुगलिनबजारमा मे१६ ६३८१ नम्बरको अल्टो कार दुर्घटनामा परेको हो ।
कार मालारानी गाउँपालिका वडा नम्बर–४, सितबाट सन्धिखर्कको लागि छुटेको थियो ।
दुर्घटनामा परी मालारानीका पाँचजना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा कारचालक अशोक खड्का, भीमप्रसाद घिमिरे, बिमला घिमिरे, शोभाखर घिमिरे र विकास भुसाल रहेका छन् ।
घाइतेमध्ये बिमलालाई थप उपचारका लागि भैरहवा ‘रिफर’ गरिएको छ ।
अरु घाइतेको जिल्ला अस्पाताल सन्धिखर्कमा उपचार भइरहेको छ ।
कार सडकबाट हुत्तिएर नजिकको खेतमा पुगेको थियो ।
तीव्रगतिका कारण दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यस्तै
सल्यानमा ट्रक दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
रुकुमबाट दाङ तुलसीपुर जाँदै गरेको ना ४ ख ९७११ नम्बरको ट्रक कपुरकोट गाउँपालिका ३ आगरखोलाको घुम्तीमा दुर्घटना हुँदा १० जना घाइते भएका हुन।
उनीहरूको कपुरकोटमा सामान्य उपचारपछि थप उपचारका लागि दाङ पठाइएको प्रहरीले बताएको छ।
ट्रक सडकदेखि करिव ५५ मिटर तल खसेको छ।
दुर्घटनाको कारण खुल्न नसकेको र चालक समेत घाइते भएकाले अनुसन्धानमा केही ढिलाई भएको प्रहरीको भनाई छ।
यस्तै
काठमाडौंको बालाजुमा मोटसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
बालाजुस्थित गंगा हल अगाडि गएराति मोटसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार व्यक्ति भने गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार मनमैजु बस्ने धादिङ निलकण्ठका २१ वर्षीय भुवन आलेको सो दुर्घटनामा मृत्यु भएको हो ।
गम्भिर घाइते भएका आले र पछाडी सवार २० वर्षीय मिलन मगरलाई उपचारको लागि स्वयम्भुस्थित मनमोहन अस्पताल पुर्याइएकोमा आलेको उपचारकै क्रममा मृत्यु भएको हो ।