काठमाडौ ,
असार २४ –
मन्त्रिपरिषद्को आकस्मिक बैठक अहिले बसीरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ७ बजेदेखि बैठक सुरु भएको हो ।
भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएपछि जारी विवाद र बहसका बारेमा पनि बैठकमा छलफल भइरहेको एक मन्त्रीले बताउनुभयो ।
प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले आकस्मिक नभई मन्त्रिपरिषद्को बैठक नियमित भएको बताउनुभयो । बैठकका निर्णय एक सातापछि सार्वजनिक गर्ने गरिएको छ ।
हिजो साँझ पनि मन्त्रिपरिषद्को बैठक बसेको थियो । त्यसैको निरन्तरता भएको जानकारी दिँदै अधिकारीले हिजो मन्त्रीहरूको धारणा सुन्ने काम सकिएको र आज आवश्यक निर्णयका लागि बैठक बसेको उल्लेख गर्नुभयो ।
राजपत्रमा सूचना प्रकाशित गरी सरकारले आयात गरिने तरकारी र फलफूलको विषादी परीक्षण गरेर मात्र नेपाल भित्र्याउने निर्णय गरेको थियो ।
तर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएपछि सरकारको आलोचना हुँदै आएको छ ।
कृषि मन्त्री चक्रपाणि खनालले संसद्मै प्रयोगशाला अभाव नरहेको जवाफ दिएपछि त सरकार थप अप्ठ्यारोमा परेको छ ।