पाल्पा,
असार २७ –
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्ड एकतर्फी रूपमा सञ्चालन भएको छ।
लगातारको वर्षाका कारण पहिरोले अवरुद्ध बनेको सडक शुक्रबार बिहान डोजर लगाएर पहिरो हटाएपछि एकतर्फी रूपमा सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिनुभयो।
तीन दिनअघिदेखि लगातार वर्षा भइरहेकाले बिहीबार बेलुका राजमार्गको सिद्धबाबा नजिकैको हेडबक्समा र बिहान केराबारी क्षेत्रमा ठूला ढुङ्गासहितको पहिरो खसेको जिल्ला प्रहरी पाल्पाले जनाएको छ।
अहिले पनि लगातार पानी परिरहेकाले तत्काल पहिरो हटाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।
सडक विभाग कार्यालयको समन्वयमा जिल्ला प्रहरी कार्यालय पाल्पाले डोजर प्रयोग गरेर पहिरो हटाउने कार्य गरिरहेको सापकोटाले बताउनुभयो ।
यस्तै पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।
यो सडकखण्डको १७ किलोमा बिहीबार राति १० बजेतिर पहिरो खसेपछि एकतर्फी रुपमा मात्र गाडी चलेको थियो ।
शुक्रबार बिहान साढे ८ बजे पहिरो पन्छाएपछि अहिले दुईतर्फी रुपमा नै चलिरहेका प्रहरीले जनाएको छ ।
यसैबिच लगातारको वर्षासँगै बाढि र पहिरोको उच्च जोखिम रहेकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ ।
देशका अधिकांश स्थानमा पूर्ण बदली रही मध्यपूर्वका केही स्थान र पश्चिम क्षेत्रका धेरैजसो स्थानमा मनसुनी वर्षा भइरहेको महाशाखाले जनाएको हो । हिजोदेखि देशका अधिकांश स्थानमा भारी वर्षा भइरहेको छ ।
पर्सी आइतबारसम्म देशका अधिकांश भू–भागमा मनसुन सक्रिय हुने भएकाले जोखिम बढेको मौसमविद् मञ्जु बासीले बताउनुभयो ।
देशका अधिकांश भू–भागमा बदली र भारी वर्षाको सम्भावना भएकाले सबैजसो नदीमा बाढीको जोखिम उच्च रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभर वर्षा र बाढीको सम्भावनाबाट सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
लगातार पानी परेपछि देशका धेरै नदीमा बाढी आएको छ । बागमती नदीमा ठूलो बाढी आएकाले रौतहट र सर्लाहीका बासिन्दालाई सुरक्षित ठाउँमा जान सरकारले अनुरोध गरेको छ ।
शुक्रबार बिहान ३ बजेतिर नै बागमतीमा पानीको सतहले सतर्कता तह पार गरेकाले रौतहट र सर्लाहीका बासिन्दालाई सुरक्षित ठाउँमा जान बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको हो ।