्गुल्मी,
असार २७ –
लगातार परेको वर्षाका कारण अवरुद्ध बनेको गुल्मीको रुद्रवेणी–वामीटक्सार सडकखण्ड सुचारु भएको छ ।
गुल्मीको सत्यवती गाउँपालिका अन्तर्गत बादरेपैह्रो, लुम्दीखोला र उल्र्लीखोलास्थित डहरेखोलामा पहिरो खसेपछि गए रातिदेखि यो सडक अवरुद्ध बनेको थियो ।
गए रातिदेखि फेरि अवरुद्ध बनेको सडकमा डोजर संचालन गरि सुचारु भएको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभयो ।
जिल्लामा सबैभन्दा बढी गाडी सञ्चालन हुने यो सडक अवरुद्ध बनेपछि सयौँ यात्रु र सवारीसाधन बीच बाटोमै अलपत्र परेका थिए ।
यसैबीच पहिरो पन्छाएपछि नारायणगढ मुग्लिन सडकखण्डमा अहिले दुईतर्फी रुपमा नै गाडी चलिरहेका छन् ।
यो सडकखण्डको १७ किलोमा राति १० बजेतिर पहिरो खसेपछि एकतर्फी रुपमा मात्र गाडी चलेको थियो । बिहान साढे ८ बजेतिर पहिरो पन्छाएपछि अहिले दुईतर्फी रुपमा नै चलिरहेका प्रहरीले जनाएको छ ।
यसैबीच अविरल वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । लगातार परेको पानीका कारण कोशीमा पानीको सतह खतराको सूचीमा आएको छ ।
अहिले कोशीमा एक लाख ७४ हजार क्युसेक प्रति सेकेण्ड पानी बगरिहेको कोशी ब्यारेज कन्ट्रोलले जनाएको छ । पानीको सतह बढेपछि अहिले कोशी ब्यारेजका २२ ढोका खुल्ला गरिएको छ ।
यसैबीच देशका अधिकांश स्थानमा आज पनि बिहानैदेखि वर्षा भइरहेको छ ।
कतिपय स्थानमा आज भारी वर्षा हुनसक्ने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
मनसुनी न्यूनचापीय रेखा र मध्य तथा पूर्वी भागमा बनेको न्यूनचापीय क्षेत्रका कारण केही भूभागमा ठूलो वर्षा हुने सम्भावना देखिएको महाशाखाले जनाएको छ । अहिले पनि देशभर लगातार मनसुनी वर्षा भइरहेको छ ।
देशका पश्चिमी भूभागका केही ठाउँ, मध्य र पूर्वका धेरै ठाउँमा वर्षा हुने र केही स्थानमा अति ठूलो वर्षा हुने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
आज राति पनि पूर्ण बदलीको सम्भावना रहेकाले पानी पर्न नरोकिने महाशाखाले जनाएको छ ।